• ४ असोज २०८२, शनिबार

वीरगन्ज महानगरले पुनःनिर्माणका लागि छुट्यायो ३० अर्ब

blog

वीरगन्ज (पर्सा), असोज ४ गते । वीरगन्ज महानगरले चालु आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजित गरिएको बजेट पुनःनिर्माणमा केन्द्रित गरेको छ । महानगरले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको तोडफोड र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि बजेट खर्च गर्ने भएको हो । 

यहाँ आज आयोजना गरेको नगरसभाको २८औँ विशेष अधिवेशनले पुनःनिर्माणसम्बन्धी प्रस्तावलाई सर्वसम्मत पारित गरेको जनाएको छ । जेनजी समूहले प्रदर्शनका क्रममा यहाँका भवन र सवारी साधन तोडफोड र लुटपाट भएको थियो । 

वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरको संशोधित बजेट पेस गर्दै बजेटका प्राथमिकतासमेत परिवर्तन गर्नुपरेको बताउनुभयो । महानगरको १७औँ नगरपरिषद्ले यसअघि आव २०८२-८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजारको बजेट विनियोजन गरेको थियो ।

विशेष अधिवेशनले बजेटमा भएका नगरस्तरीय पुँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडास्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुनःनिर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको छ । संशोधनपश्चात् करिब रु ३० करोड पुनःनिर्माणका लागि उपलब्ध हुने भएको छ ।

संशोधित बजेटले प्रशासनिक भवन निर्माण, सवारी साधन खरिद, मेसिनरी उपकरण, ल्यापटप, कम्प्युटर, प्रिन्टर तथा फर्निचर खरिद, कार्यालय भवन मर्मत, गाडी भाडा, बिजुली बत्ती र अन्य आवश्यक सामग्री खरिदमा खर्च गर्ने प्रावधान गरेको छ । 

विशेष अधिवेशनले जेनजी प्रदर्शनका क्रममा काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका गरेका वीरगन्ज महानगरपालिका वडा नं १२ का असहाब आलमको परिवारलाई पाँच लाख उपलब्ध गराउने प्रस्ताव पारित गरेको छ । रासस