• ४ असोज २०८२, शनिबार

तुइन खोलामा पहिरो, मुग्लिन-नारायणगढ सडकखण्ड बन्द

blog

नारायणगढ मुग्लिन सडक खण्डको तुइनखोलमा आएको पहिरो । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल  

चितवन, असोज ४ गते । पहिरो झर्ने क्रम नरोकिएकाले आज मुग्लिन-नारायणगढ सडकखण्ड नखुल्ने भएको छ । शुक्रबार साँझदेखि मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोलमा पहिरो आएपछि १९ घण्टादेखि राजमार्ग अवरुद्ध भएको हो । 

पहिरो पन्छाउने काम भइरहँदा पहिरो आएर समस्या बनाएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । “सवारी आवागमन छिटो गराउन तातेका छौं, तर पहिरो निरन्तर आएकाले काम गर्न कठिन भएको छ,” उहाँले भन्नुभयो, “दुबै तर्फबाट पहिरो पन्छाउनका लागि सामग्री प्रयोग गरिएको छ, पहिरो आउने क्रम रोकिएन भने आज खुल्ने सम्भावना रहँदैन ।”

बिहान ४ बजेदेखि नै फिल्डमा नै खटेर काममा लागेका छौं तर परिणाम आएको छैन । सकेसम्म साँझसम्म यातायात सञ्चालन गर्ने प्रयास छ तर कठिन देखिएको उहाँले बताउनुभयो । शनिबार दिउसो १ः३० बजेसम्म पनि पहिरो खसिराखेको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार करिब ७० मिटर माथिबाट निरन्तर रूपमा ढुङ्गा झरिरहेको छ । शनिबार बिहान ७ः४० मा पुनः ठुलो पहिरो खसेर करिब १६० मिटर लम्बाई, १० मिटर चौडाई र १६ मिटर उचाइमा पहिरो रहेको छ । अहिलेपनि सानो पहिरो र ढुङ्गा खस्ने क्रम निरन्तर भइरहेको हुँदा पहिरो हटाउनको लागि समस्या भएको उहाले बताउनुभयो । 

तथापी हाल ३ वटा लोडर र एउटा एक्साभेटर परिचालन गरी दुवै तर्फबाट पहिरो हटाउने कार्य भने भइराखेको उहाले जानकारी दिनुभयो । मुग्लिन तर्फबाट अर्को एउटा एक्साभेटरले काम थालेको जानकारी दिनुभयो ।  थप पहिरो खस्ने क्रम रोकिएमा मात्र कामले तिब्रता पाउने आचार्यले बताउनुभयो ।