• ४ असोज २०८२, शनिबार

सामान्य विवादमा कुटपिट हुँदा एकको मृत्यु, चार पक्राउ

blog

सामान्य विवादमा झडप हुँदा मृत्यु भएका बेहनाको घरमा पुगेका स्थानीय ।

सिराज खान 

नेपालगन्ज, असोज ४ गते । नेपालगन्जमा खसी खरिद गर्ने विषयमा नजिकको नाता पर्ने दुई जनाबिच भएको सामान्य विवाद चर्किंदा दुबै पक्षबिच कुटपिट भएपछि नेपालगन्ज-५ का जाबिर अहिल बेहनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खसी खरिद गर्दा भएको मामुली विवादले उग्र रूप लिएपछि दुबै पक्षबिच कुटपिट हुँदा गम्भीर घाइते भएका जाबिरलाई भेरी अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले सो घटनामा संलग्न रही कुटपिट गरेको आरोपमा मुस्ताक अलि बेहना, इसराक अलि बेहना, चांद बाबु बेहना र सेराज अलि बेहनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले घट्नालाई सामान्य विवादले उग्र रूप लिँदाको परिणाम बताइए पनि प्रहरीले हरेक दृष्टिकोणबाट अनुसन्धान तथा जाँचबुझ गरिरहेको बताउनुभयो । 

सो घटनामा मृत्यु भएका जाबिर अलि बेहनाका आफन्त अजमत अलि बेहनाले रुँदै घट्ना सुनाउँदै भन्नुभयो, “सुरुमा त मामुली विवाद मात्रै थियो । ढुङ्गा र घरायसी हतियार प्रहार भएपछि अवस्था नियन्त्रण बाहिर पुग्यो । हामी सबैले मिलाउन खोज्यौं, तर सकिएन ।”

नेपालगन्ज उपमहानगरपालिका–५ का वडाध्यक्ष सराफत अलि शेषले पनि घटनाप्रति दुःख व्यक्त गर्दै विवाद मिलाउने धेरै प्रयास गरे पनि असफल भएको बताउनुभयो । सो घटनापछि अहिले नेपालगन्ज-५, बेहना टोलमा शोक छाएको छ । अधिकांश बेहना परिवार चिन्तित र दुःखी देखिन्छन् ।