• ४ असोज २०८२, शनिबार

माछा बेचेर मासिक ३० लाख रुपियाँ कमाइ

blog

माछा पोखरी देखाउँदै किसान भरतकुमार यादव । तस्बिरः धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, असोज ४ गते । एक समय भरतकुमार यादव इँटाभट्टा सञ्चालन गर्नुहुन्थ्यो । त्यसमा घाटा भएपछि उहाँ निराश बन्नुभयो । तर जीवनको बाटो यहीँ सकिएन । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९, लक्षणपट्टिका यादवले इँटाभट्टाको विकल्प खोज्दै व्यावसायिक माछापालनमा पाइला चाल्नुभयो । 

आज उहाँ सप्तरीको शम्भुनाथ नगरपालिका–४, सखुवामा स्थापित “शम्भुनाथ माछा फर्म“ का सफल सञ्चालक मात्र होइन, माछा ब्लक समन्वय समितिका अध्यक्षसमेत हुनुहुन्छ । विसं २०७४ मा नेपाल सरकारबाट सप्तरीको शम्भुनाथ, डाक्नेश्वरी, खडक, रुपनी, विष्णुपुर र बेलहीचपेना लगायत क्षेत्रमा माछा ब्लकको रूपमा एक करोड ६५ लाख रुपियाँको अनुदान प्रदान गरिएको थियो । 

सो रकमबाट प्रतिकट्ठा १० हजार रुपियाँको दरले पोखरी खन्ने योजना थियो । यादवले पनि सखुवास्थित आफ्नै १० कट्ठा जमिनमा पोखरी खनेर माछापालनको सुरुवात गर्नुभयो । अचेल १८ बिघामा विस्तार गरेर व्यावसायिक रूपमा माछा उत्पादन गर्दै आउनुभएको छ । जसमा १० कट्ठा जग्गा आफ्नै हो भने बाँकी लिजमा लिएर तीन मन धान वार्षिक बुझाउनुहुन्छ ।

माछा ब्लकको मापदण्डअनुसार एउटै पालिकामा ९० हेक्टर क्षेत्रफलमा पोखरी हुनुपर्छ । माछा जोनका लागि पाँच सय बिघा र सुपरजोनका लागि एक हजार बिघा पोखरी आवश्यक रहेको उहाँले जानकारी दिनुभयो । यादवको नेतृत्वमा सखुवाले मापदण्ड पूरा गरेपछि दुई पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अनुदान पाइएको छ । 

अन्य स्थानमा निरन्तरता दिन नसक्दा बजेटबाट वञ्चित भएको छ । अहिले सखुवामा १५ जना किसानले १४० विघामा माछा पालन गरिरहेको अध्यक्ष यादवले जानकारी दिनुभयो । यादवको फर्ममा जम्मा ११ वटा पोखरी छन्, जसमा चार बिघामा भुरा उत्पादन नर्सरी, एक बिघामा माउ पोखरी र बाँकी सबै खाने माछा उत्पादनमा प्रयोग हुन्छ । 

उहाँले माछापालनको सैद्धान्तिक तथा प्राविधिक ज्ञान विसं २०७२ मा फत्तेपुरस्थित मत्स्य विकास केन्द्रबाट सीपमूलक तालिम लिँदै सुरु गर्नुभयो । २०७३ मा ह्याचरिङ निर्माणका लागि मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट १८ लाख ५४ हजार रुपियाँ पाएर भुरा उत्पादन थालनी गर्नुभयो ।

उहाँको पोखरी वर्षमा तीन–चार सय क्विन्टल खाने माछा उत्पादन हुन्छ । प्रतिकठ्ठा २०–२१ क्विन्टल माछा उत्पादन गरेर यादव नेपालमै पहिलो रहेको दाबी गर्नुहुन्छ ।

उहाँले फर्ममा दाना उत्पादनको मेसिन, डिप फ्रीजर, ह्याचरिङ ट्याङ्क, एरिएटर, र अमेरिकन आइपीआरएस प्रविधि समेत जडान गर्नुभएको छ । 

एरिएटर प्रविधिले ६ गुणा बढी अक्सिजन र उत्पादन दिन्छ । यस प्रविधिबारे जानकारी गराइएपछि अब मधेश प्रदेश सरकारले समेत लगानी गर्न लागेको उहाँले बताउनुभयो । पोखरीमा पानीको लागि फर्ममा कुल ११ वटा बोरिङमध्ये तीन वटा छ इन्च र आठ वटा आठ इन्चको बोरिङ जडान गरिएको छ । 

सुरुमा कृषि मिटर जडान भए पनि पछि व्यावसायिक मिटर जडान गरिँदा विद्युत् शुल्क एकाएक बढेर वार्षिक तीन लाख पुगेको यादवको गुनासो छ । उहाँले सरकारसँग विद्युत् सहुलियतको माग गर्दै फर्मसम्म पुग्ने कच्ची बाटोले वर्षायाममा झन् समस्या निम्त्याउने गरेकाले ध्यान दिन आग्रह गर्नुभएको छ ।

यादवले भन्नुभयो, “३० लाख ऋण लिएर फर्म सञ्चालन गरे । अहिलेसम्म डेढ करोडभन्दा बढी लगानी भइसकेको छ । श्रम, जनशक्ति, लगानी खर्च काटेर ४० प्रतिशत अर्थात २५–३० लाख रुपियाँ भइरहेको आम्दानीबाट छोराछोरीको शिक्षादेखि लालन पालनसम्मको खर्च धानेका छन् । 

जेठी छोरी स्टाफ नर्स, जेठो छोरा आइएस्सी जीमा, माइला छोरा र दुई छोरी बिकम अध्ययनरत छन् । फर्ममा १० जनाले रोजगारी पनि पाएको उहाँले बताउनुभयो । बिमा कम्पनीबाट प्राकृतिक विपत्तिको माछामा भएको क्षतिको दाबी अहिलेसम्म पाउन नसकेको यादवको गुनासो गर्नुभयो ।

जहाँ विफलतापछि आँट, सीप र प्रविधिको भरमा सम्भावनाको पोखरी फस्टाउँछ भने कुरा भरतको प्रेरणादायी कथाले पुष्टि गरेको छ ।