टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), असोज ४ गते । गुल्मीको धुर्कोट गाउँपालिकाले संविधान दिवसको अवसर पारेर उत्कृष्ट कृषक, शिक्षक विद्यालय, राजनीतिक समाजसेवीदेखि पत्रकारसम्मलाई सम्मान गरेको छ । धुर्कोटको विकास र समृद्धिको क्षेत्रमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्तिहरुलाई गाउँपालिकाले हरेक वर्ष सम्मान गर्दै आएको छ ।
धुर्कोट गाउँपालिका–५, वस्तुका महेन्द्रप्रसाद भण्डारीलाई नगद ५० हजार रुपियाँ राशिको ‘शहिद शमशेरबहादुर खत्री वर्ष पुरस्कार’बाट सम्मान गरिएको छ ।
२५ हजार राशिको ‘शहिद खिमबिक्रम नेपाली उत्कृष्ट शैक्षिक संस्था वर्ष पुरस्कार’ बाट सोमरभोमर मावि र जिवन निर्माण प्राथमिक विद्यालयलाई सम्मान गरिएको छ । त्यस्तै १५ हजार राशिको ‘शहिद जेदुराम भण्डारी वर्ष उत्कृष्ट कृषि पुरस्कार’बाट ६० रोपनीमा व्यावसायीक खुर्सानी खेती गर्ने धुर्कोट गाउँपालिका–१ की मीना ताम्राकार र वडा ७ का व्यावसायीक बाख्रा पालक तारापती गिरीलाई सम्मान गरिएको छ ।
कक्षा १२ मा लगातार दोस्रो पटक शतप्रतिशत नतिजा ल्याउने नयाँगाउँ माविलाई पाँच लाख रुपियाँसहित ‘सफल विद्यालय वर्ष पुरस्कार’बाट सम्मान गरिएको छ । कक्षा १० मा शतप्रतिशत नतिजा ल्याउने सोमरभोमर मावि र इन्दिरा माविलाई नगद एक लाख रुपियाँसहित ‘सफल विद्यालय वर्ष पुरस्कार’बाट सम्मान गरिएको गाउँपालिकाका सूचना अधिकारी प्रेम खनालले जानकारी दिनुभयो ।
त्यस्तै १० हजार रुपियाँ राशिको उत्कृष्ट पत्रकारिता वर्ष पुरस्कारबाट पत्रकार सन्तोष महतारा, भरत पाण्डेयलाई सम्मान गरिएको छ । १० हजार रुपियाँ राशिकै उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी वर्ष पुरस्कारबाट धुर्कोट आधारभूत अस्पताल, रामप्रसाद पन्थी, तमकला शर्मा र बालबहादुर घर्ती क्षेत्री पुरस्कृत भएको सूचना अधिकारी खनालले जानकारी दिनुभयो ।
१० हजार राशिकै उत्कृष्ट कर्मचारी वर्ष पुरस्कारबाट ज्ञानबहादुर कार्की, दामोदर घिमिरे, पवित्रा भुसाल, रोशन खनाल, रमेश पाण्डेय, सुजता गिरी, कृष्णबहादुर पहराई, नारायण पोखरेल, सुरेश शर्मा सम्मानित भएका छन् । बिमला कार्की, इश्वरी गिरी, कृष्णप्रसाद अधिकारी, दिपेन्द्र कुँवर, गीता घर्ती मगर, भेषराज पन्थी, लीला विश्वकर्मा र कृष्णबहादुर थापा सम्मानित हुनु भएको छ ।
१० हजार रुपियाँ राशिको दीर्घ सेवा शिक्षक पुरस्कारबाट भगवती माविका बलराम पन्थी र गणेश माविका रत्नप्रसाद खनाल सम्मानित हुनु भएको छ । कक्षा ५ मा सर्वोत्कृष्ट सिकाई उपलब्धि हासिल गर्ने देउराली प्राविका शिक्षक कृतमान पुनमगर र पद्यमा कुँवरलाई नगद पाँच हजारले सम्मान गरिएको छ।
शैक्षिक सत्र २०८१ मा कक्षा १२ मा पालिका प्रथम हुने नयाँ गाउँ माविका विद्यार्थी आशा खत्री, कक्षा १० मा प्रथम हुने हिमालय माविका संदेश भण्डारी, कक्षा ८ मा प्रथम हुने वाग्ला माविका अप्सना घर्ती र कक्षा ५ मा पालिका प्रथम हुने देउराली प्राविका विशाल कुँवर नगद पाँच हजारसहित सम्मानित भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सबैभन्दा पहिले बालमैत्री वडा घोषणा गर्ने वडा नम्बर १, नयाँ गाउँलाई एक लाखसहित सम्मान गरेको छ ।
त्यसैगरी ७० प्रतिशत पुँजीगत खर्च गर्ने वडा नम्बर १ नयाँ गाउँ, वडा ५ वस्तु र वडा ६ रजस्थललाई १५ हजार रुपियाँ राशिको उत्कृष्ट वडा वर्ष पुरस्कार सहित सम्मान गरिएको छ । वडामा सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने वस्तुलाई पनि सम्मान गरिएको छ । उत्कृष्ट माध्यमिक तह शिक्षक वर्ष पुरस्कारबाट यज्ञप्रसाद गौतम, उत्कृष्ट आधारभुत तह शिक्षक वर्ष पुरस्कार रुमाकान्त खनाल र उत्कृष्ट विद्यालय कर्मचारी वर्ष पुरस्कार पाराश्वर पोखरेल सम्मानित हुनुभएको छ ।
धुर्कोट गाउँपालिका अन्तर्गत शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा सबैभन्दा बढी विद्यार्थी उत्तिर्ण गराउने इन्दिरा माविका, निन्युखर्क र देउराली प्राविलाई क्रमश ५०, ४० र ३० हजार रुपियाँ नगदसहित सम्मान गरिएको गाउँपालिकाका कम्प्युटर अपरेटर रमेश पाण्डेयले जानकारी दिनुभयो ।
त्यस्तै मार्चपास तर्फ प्रथम हुने निन्युखर्क मावि, दोस्रो हुने वाग्ला मावि, तेस्रो हुने धुर मावि र सान्त्वना स्थान प्राप्त गर्ने नयाँ गाउँ माविलाई पनि पुरस्कृत गरिएको छ । प्रमुख अतिथी जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले धुर्कोट गाउँपालिकाद्वारा आयोजित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सम्मान उदाहरणीय रहेको बताउनुभयो ।
उहाँले पछिल्लो जेन–जी आन्दोलनबाट उत्पन्न संवैधानिक प्रश्नको सही समाधानका लागि सबै पार्टी फागुन २१ को निर्वाचनमा सहभागी हुने र त्यसपछि बन्ने प्रतिनिधी सभाले संविधानको आवश्यक परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले सामाजिक काममा प्रोत्साहन गर्न राजनीतिक क्षेत्रमा योगदान गरेका व्यक्तिलाई सम्मान गरिएको बताउनुभयो ।
उहाँले कर्मचारीहरूलाई सेवा प्रवाहमा ऊर्जा दिन, शिक्षा र स्वास्थ्यलाई उत्कृष्ट बनाउँदै कृषि, पशुपालन र सञ्चार क्षेत्रमा पनि व्यावसायिक क्षमता विकास र ऊर्जाका लागि सम्मान गरिने गरिएको पोख्रेलले जानकारी दिनुभयो ।