सिराज खान
नेपालगन्ज, असोज ४ गते । हिन्दुहरुको महानपर्व दशैं नजिकिएसँगै कामका लागि भारत गएका नेपालीहरु चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किन थालेका छन् ।
पश्चिम नेपालका बिभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न ठुला ठुला सहरहरुमा गएकाहरु अहिले हुलका हुल स्वदेश फर्किरहेको नेपाल भारत नाकामा रहेको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले चाडपर्वहरु नजिकिएसँगै भारतबाट नेपालीहरु स्वदेश फर्किने क्रम ह्वात्तै बढेको बताउनुभयो ।
उहाँका अनुसार, गत एक सातामा मात्रै करिब १६ हजार नेपाली स्वदेश फर्किएका छन् । यो नाकाबाट हाल दैनिक करिव दुई हजारको हाराहारीमा नेपालीहरु चाडपर्व मनाउन स्वदेश फर्किरहेको प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो ।
केही दिनअघि भएको जेनजी आन्दोलनका क्रममा सीमा नाका बन्द रहेको थियो । नाका पुनः सुचारु हुनसाथ भारतबाट आउने नेपालीहरुको सङ्ख्या बढेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
दशैं, तिहार मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि नेपाल प्रहरीले आवागमनलाई जमुनाहा नाकामा सहज बनाएको छ । रिक्सा, ई–रिक्सा, बस, हाइस र होटल व्यवसायीबाट स्वदेश फर्किने नेपाली वर्षेनी ठगिने र लुटिने हुँदा सो सम्भावनालाई मध्यनजर गरि नेपाल प्रहरीले कडा निगरानी गरिरहेको छ ।
देशमा हालै भएको आन्दोलनले ठुलो उथल पुथल गरेको सुनिएको जनाउँदै भारतको शिमलाबाट १० जनासहित फर्किएका सुर्खेत रामघाटका दिलिप थापाले सोही कारणले यस पटक आफन्त भेट्न मन लागेकोले चाडपर्व मनाउन छिट्टै फर्किएको बताउनुभयो ।
सोही प्रकारले कालिकोटका रमेश विकले यस पटक फर्किने योजना नरहेपनि देशको अवस्थाले गर्दा आउनु परेको जनाउँदै चाडपर्व आफ्नै गाउँ ठाउँमा मनाउँदा राम्रो लाग्ने बताउनुभयो ।
अहिले चाडपर्वका लागि स्वदेश फर्किन थालेका नेपालीहरुको फर्किने क्रम दशैं र सो पछि पनि जारी रहने ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । सो कार्यालयका अनुसार दशैं र तिहार जति नजिक आउँछ त्यतिनै भारतबाट फर्किनेको सङ्ख्या पनि बढ्दै जान्छ ।