• ४ असोज २०८२, शनिबार

दामोदरकुण्ड जाने भक्तजनलाई निःशुल्क भोजन

blog

लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराघाराका ६५ वर्षीय डण्डु गुरूङ प्रजिअ विष्णुप्रसाद भुषाललगायत । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), असोज ४ गते ।
उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराघाराका ६५ वर्षीय डण्डु गुरूङले १२ वर्षदेखि पवित्र तीर्थस्थल दामोकरकुण्डको दर्शन गर्न जाने भक्तजनहरूलाई निःशुल्क भोजन गराउनुहुन्छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहर दामोदर कुण्डमा आउने भक्तजनहरू खुल्ला आकाशमा भोकभोकै बसेको देखेपछि आफ्नै खर्चबाट भोजन सुरू गर्नुभएका गुरूङले धेरै समय भक्तजनकै सेवामा समय खर्चिनुहुन्छ । हरेक वर्ष माइनस तापक्रममा समेत निःशुल्क भोजन गराउने गुरूङले बाँचुन्जेल दामोदर कुण्डमा जाने भक्तजनको सेवा गर्ने बताउनुभयो ।

गुरूङ भन्नुहुन्छ, ‘‘भक्तजनलाई सेवा गर्दागर्दै बुढेसकाल लाग्यो, बिरामी हुदाँ औषधी नै आश्रममा लगेर भए पनि भक्तजनलाई भोजन गराउँछु ।’’ दामोदर कुण्डमा दर्शन गर्न जाने भक्तजनलाई भोजन तथा बिरामी हुँदा बस्ने सुविधा समेत दिने गर्नुभएका गुरूङलाई अहिले सहयोग गर्ने लामा तथा अन्य सहयोगी भएपछि केही सहज भएको छ । हरेक वर्ष जेठ महिनादेखि साउनसम्म भक्तजनको सङ्ख्या धेरै हुने बेलामा घोडाखच्चडबाट समेत खाद्यान्न ढुवानी गरी भोजन गराउने गर्नुभएका गुरूङले लेक लागेर बिरामी भएकालाई समेत स्थानीय घरेलु उपचार गरी उद्धार गर्नुहुन्छ ।

वर्षात र जाडो समयमा यात्रा गर्ने भक्तजनहरूलाई माथिल्लो क्षेत्रमा लेक लाग्ने  तथा अन्य समस्याका बारेमा समेत जानकारी गराउने गर्नुभएका गुरूङले दैनिक १५ देखि तीन सय जनासम्म भक्तजनलाई भोजन गराउने गरेको बताउनुहुन्छ ।

समुन्द्री सतहबाट चार हजार ८ सय ९० मिटर उचाइमा रहेको दामोदरकुण्डको पदमार्गमा घोडा र पैदलमार्ग हुँदै पुग्ने भक्तजनलाई बृद्ध गुरूङको निःशुल्क भोजनको सुविधाले धेरै सहज भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताउनुभयो ।

प्रजिअ भुषालले भन्नुभयो, ‘‘आफ्नो ज्यान नै जोखिममा राखेर भक्तजनको सेवामा सर्मपित हुनुहन्छ, उहाँको कारणले दर्शन गर्न जाने धेरैलाई सुविधा भएको छ ।’’ पछिल्लो समय नेपाली तथा धार्मिक संस्थाबाट सामुहिक जानेहरूले समेत भक्तजनको सेवालाई थप प्रभावकारी बनाउन सहयोग गर्ने गरेको प्रजिअ भुषालले बताउनुभयो । अर्धनिषेधित क्षेत्रमा पर्ने भएकाले भारतीय सहित तेस्रो देशका पर्यटकले १० दिनका लागि पाँच सय डलर तिरेर मात्रै प्रवेश अनुमति दिइने भएकाले दामोदर कुण्डमा जाने धेरै नेपाली हुन्छन् ।

दामोदर कुण्डमा जाने स्वदेशी पर्यटकको तथ्याङ्क सङ्कलन नगरिने भए पनि गत आर्थिक वर्ष २०८२/०८३ मा झण्डै पाँचदेखि सात हजारको हाराहारीमा भक्तजनहरू पुगेको अनुमान गरिएको वडा अध्यक्ष झयाङ छेसा गुरूङको भनाइ छ । वड अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘स्थानीयले भोजनदेखि उद्धारसम्म सहयोग गर्नुहुन्छ, यहाँ सबैभन्दा ठसलो समस्या नै तिर्थयात्रुलाई लेक लाग्ने हो ।’’ एकरातमा करिब एक सय भक्तजनहरू बस्न मिल्ने गरी धर्मशाला बनाइएको छ ।

कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट दुई घण्टाको सवारी साधनको यात्रापछि यारा गाउँबाट पैदलयात्रा गर्ने यारा गाउँदेखि माथि झुमा ठाटीसम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजनहरू याराबाट नै घोडाको यात्रा गर्दछन् । याराबाट पाँच घण्टा घोडा र करिब पाँच घण्टा नै पैदल यात्रापछि दामोदर कुण्ड पुग्न सकिन्छ । सडक यातायात, सञ्चार र बसोबासको राम्रो व्यवस्था नभएका कारण दामोदर कुण्डको यात्रा भने कठीनपूर्ण छ । जोमसोम–कोरला सडकखण्डअन्तर्गत घिमीठाँटीसम्म सडक सञ्जाल र त्यहाँबाट पैदल तथा घोडामा दामोदरकुण्ड पुगेर दर्शन गरी फर्किने गरिएको छ ।

दामोदर कुण्डलाई मुक्तिक्षेत्रको शिर तथा कालीगण्डकी नदीको मुहान मानिन्छ । प्रसिद्ध मुक्तिनाथ मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीका अनुसार कुबेरका छोराहरुले दामोदरकुण्डमा स्नान गरी पाप पखालेको धार्मिक मान्यता रहेको छ । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला पाइने भएकाले यस क्षेत्रबाट घरमा रहेको मन्दिरमा राख्ने गरी शालिग्राम तथा जल लिएर आउने गरिन्छ । दामोदरकुण्डमा ३ वटा जलाशय चक्रकुण्ड, दूधकुण्ड र तामाकुण्ड छन् । यीमध्ये मुख्य कुण्ड चक्र कुण्ड। जहाँ चक्र कुण्ड र दूधकुण्ड एक स्थानमा पर्छ भने तामा कुण्ड करिब १ सय मिटर टाढा छ ।