• ४ असोज २०८२, शनिबार

च्याङ्बालाई आग्रह (कविता)

blog

च्याङ्बा ! अरूकै सत्ताको रफ्तारमा

अरूकै नियम र कानुनमा

लादिएर यो ज्यान जोगाउँदै जोगाउँदै

म्हेमे आखेको इतिहास र पहिचानलाई मुटुमा राखेर

खोइ कहाँ कहाँ पो पुग्यौँ हामी

के के पो भोग्यौँ हामीले

तिमी भरिया, ढोके, पिपा सबै सबै बन्यौ

म सुसारे, बुबुआमा, धाईआमा र नर्तकी बनेर

दरबारका कोट पटाङ्गीहरूमा

राजामहाराजाहरूको बिस्तारामा

पिँडुला र कुर्चुच्चा थङ्थिल बनाएर नाचेँ ।

ती सबै सबैलाई एकैछिन बिसाएर आऊ न

तिमी र म एकछिन बात मारौँ ।

मेरो मुटुको चीत्कार तिमी सुन

तिम्रो चीत्कार म सुन्छु

यो माहोल त तिमी र म एक हुने समय हो

यो माहोल त तिमी र मैले एक भएर

एकअर्काको मुटु छाम्ने समय हो

च्याङ्बा एक सट् कफीको चुस्की लगाएर

होस् या

सगुन पोङमा दुछे छ्योत गरेर होस्

च्याङ्बा आऊ एकैछिन फुर्सद निकालेर

एकछिन बात मारौँ ।

च्याङ्बा मुटुको दुःखाइ त तिम्रो पनि होला

मभित्र पनि अनगन्ती छन् दुःखाइहरू

तिम्रो दुःखाइ कम गर्न

मेरो दुःखाइलाई मल्हम लगाउन

कसैको मुटु दुख्दै नदुखोस्

कसैको शिर ढल्दै नढलोस्

म्हेमे आखेले ठड्याएको हाम्रो इतिहास धर्मर हुँदै नहोस्

च्याङ्बा ! होस पु¥याएर तिमी र म एकछिन बात मारौँ

म तिमीलाई जुँगादेखि मुटुमा लुकाएर राखेको

एउटा खिल बात मार्दै देखाउँछु

मन नदुखाईकन, मुन्टो नघुमाईकन

आफ्नो मानेर एकैछिन घोत्लिएर

सुन है मेरो च्याङ्बा !

लनी छङ्पो, लनी वङ्वै ग्याब्जेन

अनि लनी महादेओको सृष्टिले

तिमीलाई म्हिए रेन्जेन बनाए

लनी छङ्पोले तिमीलाई साथी भनेर

मलाई लय लमो, गङ्सल्मो बनाएर पठाए

अझै तिम्रो घरबार र तिम्रो सृष्टिको लोकलाई चलाउन

मलाई ब्रागेलमो बनाएर तिम्रो जीवनमा पठाए

सृष्टिका कैयौँ सङ्कटमा तिमी म्हेमे दोङ छेन्पो बन्यौ

म माम वाली साङ्मो बनेर जोगाइराख्यौँ

यो मानव सृष्टिको सभ्यता

यसै गरी अगाडि बढिरह्यो हाम्रो सृष्टिको कथा

च्याङ्बा ! सृष्टिकै आदिम कालमा

तिमी विरक्तिएर मधेशतिर झरेकै बेला

तिमीलाई पेङदोर्जेको डाँफे नाचेको सुनौलो डम्फु दिएर

डम्फुकै धुन मिसाउँदै 

बिहेबारीमा ताम्बा काइरन सुनाउन सिकाएकै हुँ ।

च्याङ्बा ! सम्झ त

तिम्रो र मेरो आदिम कथा ?

हामी सँगसँगै थियौँ

हामी सँगसँगै हिँड्यौँ

हाम्रो इतिहास र मानव सृष्टिको कथालाई उठाउन ।


च्याङ्बा ! समयको गति यसरी अगाडि बढ्यो कि

इतिहासका पानाहरूमा

म त तिम्रै छायाको स्वरूप मात्र रहेँ

जान्ने तिमी नै भयौ

सुन्ने तिमी नै भयौ

कुल कुल्यान, सिमेभुमे र रिमठिममा

तिम्रै काइरन अगाडि बढ्यो

चोहोको भाग तिम्रै भो

ताम्बाको भाग तिम्रै भो

गान्बाको भाग तिम्रै भो

म त तिमीले जसो जसो गरी

डम्फु बजाउँछौ, त्यसरी नै नाचिरहेँ

तिम्रो लय र धुनलाई सदिऔँदेखि सुनिरहेँ ।

च्याङ्बा ! सुनाउन त तिमीले संसारलाई सुनायौ

मैच्याङहरूको मातृसत्ताका गाथाहरू

सुनाउन भुल्यौ मैच्याङहरूले निर्माण

गरेका इतिहासका दस्ताबेजहरू

मैच्याङहरूले पनि बोकेनन् ताम्बाको भारी

र, सुनाएनन् ताम्बा दर्शनहरू र इतिहास

अब त मैले अठोट गरेँ च्याङ्बा !

म उभिन्छु पेङदोर्जे आखेको डम्फु बोकेर

सुनाउँछु यो संसारलाई ताम्बा काइतेन र काइरन

ताम्बा र गान्बाको स्वरूपमा उभिएर

म उभिएको धरातल तिमीलाई

स्वीकार्य छ कि छैन च्याङ्बा ?

मैले ताम्बा काइरन सुनाइरहँदा

तिमी नाच्छौ कि नाच्दैनौ

कम्मर मर्काएर ?

च्याङ्बा ! आऊ न तिमी र म एकछिन बात मारौँ ।

हो,

यो समयमा हाम्रो मन टुट्नु हुन्न

हाम्रो साथ छुट्नु हुन्न

तिमी र म मिलेर नै बनाउनु छ

हाम्रो एउटा अर्को इतिहास । 

त्यसैले

च्याङ्बा ! आऊ न तिमी र म एकछिन बात मारौँ ।