घोराही समाचारदाता
घोराही, भदौ २९ गते । दाङमा जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार जिल्लामा हालसम्म १२९ वटा सवारीसाधनमा तोडफोड र आगजनी भएको विवरण सङ्कलन भएको छ ।
जिल्लामा भौतिक रूपमा भएको क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने भए पनि शक्रबारसम्म प्राप्त विवरण अनुसार २२ वटा सरकारी कार्यालयका १२९ वटा सवारीसाधनमा तोडफोड र आगजनी भएको विवरण सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत विजय गौतमका अनुसार आन्दोलनका क्रममा सबैभन्दा धेरै जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा एउटा गाडीसँगै मोटरसाइकल र स्कुटर गरेर २८ वटा सवारीसाधनमा तोडफोड र आगजनी भएको छ ।
त्यसै गरी जिल्ला समन्वय समितिमा १८ वटा दुईपाङ्ग्रे र तीन वटा चारपाङ्ग्रे सवारी गरेर २१ वटा, घरेलु तथा साना उद्योग कार्यालयमा नौ वटा, सडक पूर्वाधार कार्यालय घोराहीका मोटरसाइकल र एउटा गाडी गरेर आठ वटा, भूमिसुधार तथा मालपोत कार्यालयका चार वटा, सडक डिभिजन कार्यालय र यान्त्रिक कार्यालयमा तीन/तीन वटा, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, नापी कार्यालयका दुई/दुई वटा, घोराही उपमहानगरपालिकाको कार्यालयमा नौ वटा सवारीसाधनमा आगजनी भएको छ ।
त्यसै गरी उच्च अदालत तुलसीपुरमा नौ वटा, लोकसेवा आयोगको कार्यालय तुलसीपुरमा सात वटा, तुलसीपुर उपमहानगरपालिका, भू तथा जलाधार कार्यालय तुलसीपुर र बबई गाउँपालिकाको कार्यालय हापुरेमा पाँच/पाँच वटा, आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा चार वटा, इलाका प्रशासन कार्यालय तुलसीपुर, लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको लमहीमा रहेको मन्त्रीको आवास भवन, प्रदेश निर्वाचन कार्यालय घोराही, घोराही नगरपालिकाको वडा नम्बर १५ को कार्यालय, अस्थायी प्रहरी पोस्ट घोराही बसपार्कमा एक/एक वटा मोटरसाइकलमा आगजनी भएको विवरण सङ्कलन भएको छ ।
जिल्लामा सरकारी कार्यालय, पार्टी कार्यालय, नेताका घर, व्यावसायिक भवनसँगै विभिन्न स्थानीय तह र प्रहरी चौकी गरी करिब छ दर्जन कार्यालय तथा घरमा तोडफोड र आगजनी भएको छ । प्रमुख प्रशासकीय अधिकृत गौतमले कार्यालयसँगै सवारीसाधनमा भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेकाले क्षतिको विवरण बढ्ने बताउनुभएको छ ।
उहाँका अनुसार २० सरकारी कार्यालय जलेका र दुई वटामा सामान्य क्षति भएको छ । प्रारम्भिक विवरण अनुसार आठ कार्यालयका सबै कागजात जलेर नष्ट भएका छन् । तीन कार्यालयका कागजातमा आंशिक क्षति भएको छ । प्रशासकीय अधिकृत गौतमले प्रहरी मुचुल्काका आधारमा विवरण तयार गर्ने काम भइरहेको बताउनुभयो ।