• २९ भदौ २०८२, आइतबार

नयाँ सरकारको कार्यभार

blog

नवयुवा जेनजी पुस्ताले गरेको दुईदिने आन्दोलनको सफलतासँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई शुक्रबार राति अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । निडर र कुशल न्यायमूर्तिका रूपमा परिचित नवनियुक्त प्रधानमन्त्री कार्कीले शुक्रबार राति नै शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटनको सिफारिस गर्नुभयो  । राष्ट्रपति पौडेलले तत्कालै प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते प्रतिनिधि सभाको नयाँ निर्वाचन गराउने मिति घोषणा गर्नुभयो । आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको तत्कालीन संयुक्त सरकार ढलेपछि आन्दोलनकारीको माग अनुसार अन्तरिम सरकार गठन हुनुका साथै प्रतिनिधि सभा विघटन गरिएको हो । जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनको सफलतापछि कार्की सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले पहिलो महिला प्रधानमन्त्री बन्नुभयो । दुईदिने आन्दोलनका कारण देशमा ठुलो जनधनको क्षति भएपछि राष्ट्रपति पौडेल र नेपाली सेनाको समन्वयमा निरन्तर संवाद भयो । भदौ २५, २६ र २७ गते राष्ट्रपति पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीका प्रतिनिधिबिचको गम्भीर विमर्शपछि जेनजीद्वारा प्रस्तावित पूर्वप्रधान न्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरियो । 

नवनियुक्त प्रधानमन्त्री कार्की शुक्रबार शपथग्रहण गर्दै गर्दा सामान्य पोसाकमा उपस्थित हुनुभयो । सादा जीवन उच्च विचारकी धनी उहाँको आगमनसँगै अब मुलुकले सही निकास पाउने विश्वास गरिएको छ । राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित उच्च पदाधिकारी उपस्थित लहरसामु शपथग्रहण गर्दा देखिएको उहाँको सादगीपूर्ण जीवनशैली आउने पुस्ताका लागि पनि प्रेरणादायी थियो । राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै आफू र देशलाई सफल बनाउन आग्रह गर्नुभयो । उहाँलाई बधाई दिन जेनजी अभियन्ता राष्ट्रपति भवन शीतल निवास पुग्नुभयो । उहाँहरूले प्रधानमन्त्री कार्कीले देशलाई निकास दिने भरोसा र विश्वास पनि व्यक्त गर्नुभएको थियो । राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिका आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्थाबमोजिम छ महिनाभित्र प्रतिनिधि सभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो । मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवापुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकाङ्क्षा अनुसार राजनीतिक दल तथा सरोकारवालासँगको परामर्शसमेतका आधारमा नेपालको संविधानबमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्न आवश्यक भएकाले नयाँ प्रधानमन्त्री नियुक्त गरिएको प्रस्ट छ । राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नयाँ अन्तरिम प्रधानमन्त्री नियुक्तिदेखि शपथग्रहणका सबै काम संविधानमा भएको व्यवस्था अनुसार नै गरिएको छ । 

नेपालको संसदीय अभ्यासमा महिला मन्त्री भएको ६६ वर्षपछि मुलुकले पहिलो महिला प्रधानमन्त्री पाउनु गर्वको कुरा हो । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले २०१६ जेठ १३ गते कांग्रेस नेतृ द्वारिकादेवी ठकुरानीलाई मन्त्रीपरिषद्मा सामेल गर्नुभएको थियो  । पूर्वप्रधान न्यायाधीश कार्की आठ वर्षअघि सर्वोच्च अदालतको जिम्मेवारीमा रहँदा न्यायालयमा नवीन विधि स्थापित भयो  । नेपाली न्यायपालिकाको इतिहासमा पहिलो महिला प्रधान न्यायाधीश भएर सर्वोच्च अदालतको जिम्मेवारी समाल्दा उहाँले अनेकौँ चुनौती झेल्नु परेको थियो । विसं २०७४ वैशाख १७ गतेको एउटा फैसलाले कार्कीलाई वास्तवमै एक ‘क्रान्तिकारी’ न्यायमूर्तिका रूपमा स्थापित ग¥यो ।  उहाँले २०७३ असारदेखि २०७४ जेठसम्म सर्वोच्च अदालतको नेतृत्व समाल्नुभएको थियो । इमानदार, निष्पक्ष र साहसी न्यायमूर्तिको पहिचानले स्थापित उहाँ भ्रष्टाचारविरुद्ध कठोर निर्णय गर्ने र न्यायपालिकाको स्वतन्त्रता कायम राख्ने न्यायमूर्ति पनि हुनुहुन्छ । निर्धारित मितिमा प्रतिनिधि सभा निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने, मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउँदै शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी प्रधानमन्त्री कार्कीको काँधमा आएको छ । त्यसै गरी उहाँले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने, ध्वस्त भएका भौतिक संरचना पुनर्निर्माण गर्ने, समाजमा व्याप्त अराजक एवं हिंसात्मक प्रवृत्तिविरुद्ध मेलमिलाप र एकता कायम गर्ने, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको रक्षा गर्दै दुई छिमेकी भारत र चीनसँगको मित्रवत् सम्बन्धलाई घनीभूत बनाउने, विश्व समुदायमाझ नेपाललाई स्थापित गर्ने जस्ता कार्यभार पूरा गर्नुपर्ने छ । कार्की नेतृत्वको यो अन्तरिम सरकार जेनजी पुस्ताको भावना र चाहनालाई कदर गर्दै मुलुकलाई चाँडै सही निकास दिन सफल हुने विश्वास गरिएको छ । सफलताका लागि हार्दिक शुभकामना ।