हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), साउन २९ गते । जेनजी प्रदर्शनका कारण देशभर स्थानीय तहमा तोडफोड तथा जनप्रतिनिधिको घरमा आगजनीका कारण भय र त्रासग्रस्तका कारण कर्फ्यु तथा निशेधाज्ञा जारी गरिएपछि मुस्ताङको घरपझोङ गाउँपालिकाले भदौ ३१ गते तय भएको राष्ट्रिय जलवायु सम्मेलन स्थगित भएको छ । सात सय ५३ वटै स्थानीय तहका प्रमुखहरूलाई पत्रचार गरिएको सम्मेलन अनुकूल समयमा पछि सञ्चालन गर्ने गरी स्थगित गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले बताउनुभयो ।
‘‘स्थानीय तहको जिम्मेबारी, जलवायु परिवर्तनका लागि साझेदारी’’ भन्ने मुल नारासहित जलवायु परिवर्तनका कारण बाढीपहिरो, कृषि, पशुपालन तथा सम्रग मुस्ताङले भोगेको क्षति देखाउन तथा स्थानीय तहमार्फत जलवायु न्यायका लागि साझेदारी गर्न सम्मेलन आयोजना गरिएको थियो । उक्त सम्मेलनका लागि हालसम्मको तयारीमा सहयोग गर्ने सम्पूर्णलाई गाँउपालिकाले धन्यवाद दिएको छ ।
सम्मेलनमार्फत देशभरका स्थानीय तहले हरेक बजेटमा जलवायु परिवर्तनका कारण भएको असर न्यूनीकरणमा बजेट विनियोजन सहित स्थानीय सरकारमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा दबाब दिने भएकाले सम्मेलनलाई निकै चासोका साथ हेरिएको थियो । गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले स्थानीय तह तथा जनप्रतिनिधिमाथिको भएको आक्रमणका कारण अहिलेको अवस्थामा सम्मेलन सञ्चालन गर्दा प्रभावकारी नहुने थप भब्य र लक्ष्य प्राप्ती हुने गरी सम्मेलन गरिने बताउनुभयो । गाउँपालिकाले यस सम्मेलनका लागि ७५ लाख बजेट विनियोजन गरिएको छ ।