फडिन्द्र अधिकारी
लेखनाथ, भदौ २९ गते । पोखरा महानगरले आइतबारबाट सेवा सुरुआत गर्ने भएको छ । भदौ २४ गतेको तोडफोड र आगजनीपछि क्षति नभएका संरचनाबाटै सेवा सुरू गर्ने तयारी भएको हो ।
शनिबार बसेको नगर कार्यपालिकाको भर्चुअल बैठकले तत्काल आवश्यक सेवाहरू हस्तलिखित रूपमा भए पनि सञ्चालन गर्ने निर्णय लिएको महानगरका प्रवक्ता मोति तिम्सिनाले जानकारी दिनुभयो । असोज १ गतेदेखि महानगर मातहतका स्वास्थ्य संस्था र सुरक्षित रहेका वडा कार्यालबाट सेवा दिने दिइने भएको छ ।
अत्यावश्यक सेवा भने महानगरले सुरु गरिसकेको छ । “क्षति नभएका कार्यालय र भवनहरूबाट सेवा थालिनेछ,” प्रवक्ता तिम्सिनाले भन्नुभयो, “नगरबासीको अत्यावश्यक सेवा कुनै हालतमा रोकिँदैन ।’ महानगर र वडा कार्यालयहरुमा भएको क्षति प्रहरीको मुचुल्कासहित सङ्कलन गरिँदै छ ।
प्रदर्शनकारीले महानगरपालिका कार्यालय, नगर प्रमुखको निवास, सवारी साधनहरुसहित वडा कार्यालयहरुमा पनि तोडफोड र आगजनी गरेका थिए । आधा दर्जन वडा कार्यालय पूर्णरुपमा क्षति भएका, आधा दर्जन वडा कार्यालय आंशिक रुपमा क्षति भएको र बाँकी भने सामान्य तोडफोड भएको महानगरले जनाएको छ ।
जेनजी आन्दोलनअघि कास्केली समाजको सम्मेलनमा भाग लिन दुबई जानुभएका नगर प्रमुख धनराज आचार्य अहिले भारतको नयाँ दिल्लीमा हुनुहुन्छ । महानगरले असामान्य परिस्थितिका कारण बन्द रहेका पोखराका सबै विद्यालय असोज १ गतेदेखि खोल्ने निर्णय गरेको छ ।
महानगर शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले असामान्य परिस्थितिका कारण बन्द रहेको विद्यालयहरूमा पठनपाठन थाल्न अभिभावक, विद्यार्थी र विद्यालय सञ्चालकहरूलाई अनुरोध गरिएको जनाउनुभयो ।
कर्फ्यु र निषेधाज्ञा हटाइयो
कास्कीमा शान्ति, सुरक्षाको अवस्थालाई विश्लेषण गर्दै जिल्ला सुरक्षा समितिको निर्णयानुसार पोखरा महानगरपालिकाभर लगाइएको कर्फ्यु र निषेधाज्ञा शनिबारबाट हटाइएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा शान्ति सुव्यवस्था र पारस्परिक सद्भाव कायम राख्न, सुरक्षाका लागि आवश्यक सहयोग गर्न, जनजीविकालाई सामान्यीकरण गर्दै लैजान आग्रह गर्नुभएको छ ।
एक सय सात कैदी फर्किए
मङ्गलबार राति कास्की कारागार खाली गरी निस्केका कैदी, बन्दीहरु फर्किने क्रम जारी छ । शनिबार साँझसम्म एक सय सात कैदी, बन्दी फर्किएको जेलर राजेन्द्र शर्माले जानकारी दिनुभयो ।
कारागारमा थ्रिफेज बिजुली जडानसहित अत्यावश्यक व्यवस्थापनका काम सकिएपछि कैदी, बन्दीलाई राख्न सुरु गरिएको हो । मङ्गलबार राति आन्दोलनकारीले तोडफोडसहित कैदीबन्दीलाई निकालेर कारागार खाली गराएका थिए । कास्की कारागारमा सात सय ७३ कैदी, बन्दी थिए ।