• २९ भदौ २०८२, आइतबार

निसानामा पार्टी कार्यालय र नेताका घर

blog

तोडफोड र आगजनी गरिएको नेकपा (एमाले) चितवन जिल्ला पार्टी कार्यालय ।तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, भदौ २९ गते । गत मङ्गलबार जिल्लामा भएको आगजनी तथा तोडफोडबाट सबैभन्दा धेरै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पार्टी कार्यालय र नेताका घरमा क्षति पुगेको पाइएको छ । शुक्रबारबाट जनजीवन सामान्य भएपछि जिल्लाका मुख्य तीन वटा पार्टीले क्षतिको विवरण सङ्कलन तथा मुचुल्का गरेर प्रहरीमा बुझाउने कार्य सुरु गरेका छन् । 

जेनजीको आन्दोलनका क्रममा नेकपा (एमाले) को जिल्ला पार्टी कार्यालयमा आगजनी भएको छ । जिल्ला अध्यक्ष कमलराज पाठकले पार्टी कार्यालयको भवनबाहेक अन्य सबै सामग्री जलेर नष्ट भएको जानकारी दिनुभयो । जिल्ला पार्टी कार्यालयमा मात्र नभएर क्षेत्रीय कार्यालय, पालिकास्तरका कार्यालयसमेत जलाउने र तोडफोड गर्ने कार्य भएको बताउनुभयो । “हामीले जिल्लाभर के कस्तो क्षति भएको छ भन्ने विवरण सङ्कलन गर्नेतर्फ लागेका छौँ,” उहाँले भन्नुभयो, “विशेष गरी कार्यालय र नेताको घर निसाना बनेका छन् । जलाउने र तोडफोड गर्ने काम भएको छ ।” 

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, जिल्ला अध्यक्ष पाठकको घर, पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे, श्याम पाठकसहित नेता तथा समर्थकको घरमा तोडफोड र आगजनी गरेको जानकारी दिनुभयो । ५० जना नेताको घरमा तोडफोड भएको र सबै विवरण सङ्कलन गरेर जिल्ला प्रहरीमा जानकारी गराउने बताउनुभयो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खानालले मुख्य बजार नारायणगढमा भएको कारण जिल्ला पार्टी कार्यालय जल्नबाट बचेको जानकारी दिनुभयो । कार्यालयभित्र रहेका सबै फर्निचर तथा कम्प्युटरसहित अन्य सामग्री तोडफोड गरिएको छ । पालिकास्तरका कार्यालयमा समेत तोडफोड गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीका नेता उमेश श्रेष्ठ, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको घर, खैरहनी नगरपालिका कार्यालयका प्रमुख शशि खनियाँ, शङ्कर कँडेलसहितका नेताको घरमा आगजनी र तोडफोड गरिएको छ । नेताको घर तथा कार्यालयमा भएको क्षतिको विवरण प्रहरी कार्यालयमा बुझाएको र बाँकी विवरण बुझाउन तयारी भएको जानकारी दिनुभयो । 

त्यस्तै गरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयोजक रामचन्द्र अधिकारीले आन्दोलनकारीबाट जिल्ला पार्टी कार्यालयमा आगजनी गर्दा पूर्ण रूपमा क्षति भएको बताउनुभयो । उहाँका अनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शिवनगरस्थित घरमा आगजनी गरेर नष्ट पारिएको छ । राष्ट्रि«य सभा अध्यक्ष तथा माओवादी नेता नारायणप्रसाद दाहालको घर, बाबुराम दाहालको घर, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको काठमाडौँमा भएको घरमा आगजनी र तोडफोड भएको जानकारी दिनुभयो । 

जिल्लामा भएको क्षतिको सबै विवरण सङ्कलन गरेर प्रहरीलाई बुझाइसकिएको उहाँले बताउनुभयो । जिल्लाका पालिका तथा क्षेत्रीयस्तरका कार्यालय र नेताका घरमा भएको अन्य क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइराखेको उहाँले जानकारी दिनुभयो ।  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जिल्लाका धेरै स्थानमा क्षति भएकाले सबै विवरण सङ्कलन गर्न प्रहरीले नभ्याउने बताउनुभयो । प्रहरी कार्यालयमा पनि आन्दोनकारीले क्षति पु¥याएकाले कार्यालय व्यवस्थापन र सञ्चालनमा कठिनाइ भएको उहाँले भन्नुभयो । जिल्लाका राजनीतिक दलका नेता तथा कार्यकर्ताले आफ्नो कार्यालयमा भएको तोडफोडको विवरण सङ्कलन गर्ने, सरसफाइ गर्ने र नियमित पार्टीको काम गर्ने कार्यमा लागेको पाइएको छ ।