प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), भदौ २४ गते । जेनजीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गाडि जलाई दिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर घेराउ गरेर जेनजीले प्रदर्शन गर्न थालेपछि प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र अश्रु ग्यास चलाएको छ । जेनजीको प्रदर्शन हिंसात्मक हुन् नदिन प्रहरीले संयमता अपनाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभयो ।
चन्द्रनिगाहपुरको अवस्था तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले अहिले साढे ११ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि चन्द्रपुर नगरपालिका भित्र कर्फ्यु जारी गरेको छ । उत्तरमा चन्द्रनिगाहपुर चोकदेखि गैडाटार जाने बाटोको पानी ट्याङ्कीसम्म, पूर्वमा चन्द्रनिगाहपुर चोकदेखि चाँदी खोलाको पूल पारीसम्म, दक्षिणमा चन्द्रनिगाहपुर चोकदेखि घोडदेवी मन्दिरसम्म र पश्चिममा चन्द्रनिगाहपुर चोकदेखि महेन्द्र राजमार्गको जिल्ला ट्राफिक प्रहरी कार्यालयको पोष्टसम्म कर्फ्यु लगाइएको रौतहटका प्रमुख जिल्ला अधिकारि बिनोद कुमार खडकाले जानकारी दिनुभयो । कर्फ्यु लागेको सिमाना भित्र आवतजावत गर्न, भेला, जुलुस प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारी कर्फ्यु आदेशमा उल्लेख गरिएको छ ।
कफ्र्यु अवधि भर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीको सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने कर्फ्यु आदेशमा उल्लेख छ । कफ्र्यु जारि भए पनि जेनजीको प्रदर्शन रुकेको छैन ।
यस अघि जेनजीले चन्द्रपुर नगरपालिका भवनमा आगजनी गरेका छन् । आगलागीले नगरपालिकाको एउट गाडि , दुई वटा स्कुटर र एउटा पानी ट्याङ्कर जलेर नष्ट भएको छ ।
आगो लागेर नगरपालिकाको नयाँ भवनको छेउमै रहेको पुरानो भवनमा क्षति पुगेको छ । आगलागीले नगरपालिकाको महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको छ ।