• २४ भदौ २०८२, मङ्गलबार

महोत्तरीमा युवाहरुको प्रर्दशन, जलेश्वर जनकपुर सडक बन्द

blog

जलेश्वरका युवाहरु सडकमा आन्दोलन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय महोत्तरी अगाडि धर्ना दिँदै । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण
महोत्तरी, भदौ २४ गते ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित विभिन्न बजारहरुमा मङ्गलबार बिहानैदेखि जेनजीको समर्थनमा प्रदर्शनहरु भइरहेको छ । प्रदर्शनकारीहरुले जलेश्वर जनकपुर सडकखण्डलाई समेत अवरुद्ध पारेका छन् ।

सोमबार काठमाडौँदेखि देशको विभिन्न ठाउँहरुमा जेनजीहरुको प्रदर्शनमा १९ जनाको मृत्यु भएको आक्रोशमा युवाहरु बिहानैदेखि जलेश्वरमा टायर बालेर विभिन्न ठाउँहरुमा प्रर्दशन गरिरहेका छन् । जलेश्वर जनकपुर सडकखण्डको अलिपट्टी पर्सामा स्थानीयवासीहरुले सडकमै बाँसहरु राखेर र टायरहरु बालेर प्रर्दशन गरिरहेका छन् ।

सडकमै टायर बालेर तथा मुढाहरु राखेर सडक बन्द गराएपछि जलेश्वर जनकपुर जाने यात्रुहरु अलपत्र परेका छन् । कार्यालय जाने कर्मचारीहरु समेत वैकल्पिक बाटो प्रयोग गर्न वाध्य छन् ।

जिल्लाको जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, रामगोपालपुरलगायतका क्षेत्रहरुमा युवाहरु मङ्गलबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । जलेश्वरका युवाहरुले नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरी अगाडि समेत धर्ना दिएर प्रदर्शन गरेका छन् ।

जेनजी युवाहरु भेला भएर विद्यार्थी मार्न पाइँदैन, भ्रष्टाचार अन्त्य गर, प्रधानमन्त्री राजिनामा देउ, प्रशासन पछाडी हटजस्ता विभिन्न नाराहरु समेत लगाइरहेको छ । बर्दिबासमा विद्यार्थीहरु स्कुल डे«समै सडकमा उत्रिएका छन् भने जलेश्वर नगरपालिकाले आज अत्यावश्यकीय बाहेक सम्पूर्ण सेवा वन्द गर्ने निर्णय गरेको छ । यसक्षेत्रको विद्यालयहरु समेत आज बन्द छ ।