अमरराज नहर्की
तनहुँ, भदौ २४ गते । तनहुँको सदरमुकाम दमौलीमा मङ्गलबार जेनजी पुस्ताले शान्तिपूर्ण प्रदर्शन गर्दै आफ्नो आवाज बुलन्द गरेका छन् । विभिन्न क्याम्पसका विद्यार्थी, युवा समूह र सामाजिक सञ्जालमार्फत सक्रिय युवाहरू सडकमा उत्रिएर भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन गरेका हुन् ।
युवाहरूले सरकार भ्रष्टाचारमा डुबेको, नागरिकलाई सुशासन दिन नसकेको आरोप लगाउँदै नेताका छोराछोरी र साधारण नागरिकको अवस्थाबिचको भिन्नतालाई उजागर गर्न खोजी गर्नुपर्ने बताएका थिए । आन्दोलनकारीहरूले “भ्रष्टाचार एक अपराध हो, संस्कृति होइन”, “भ्रष्टाचार मुक्त नेपाल हाम्रो अभियान”, “रोजगारीमा समान अवसर” र “शिक्षामा गुणस्तर” जस्ता नारा लगाएका थिए ।
युवाहरूले र्याली निकालेर बजार परिक्रमा गरेका थिए । राजनीतिक नेतृत्वप्रति आक्रोश व्यक्त गरेका थिए । सदरमुकाम दमौलीमा प्रदर्शनमा सहभागी केही विद्यार्थी कलेजको पोशाकमै थिए भने अन्य स्थानीय युवाहरूले पनि नेतृत्व गरेका थिए ।
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन जिल्ला प्रहरीले पर्याप्त सुरक्षाकर्मी खटाएको थियो । विरोध र्यालीपछि युवाहरूले कोणसभा समेत गरेका थिए । उनीहरूले आगामी दिनमा निरन्तर संवाद, सचेतना र आवश्यकता परे थप चरणबद्ध कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् । यस अघि सोमबार पनि दमौलीमा पदर्शन गरेका थिए । सदरमुकाम दमौलीका साथै जिल्लाका प्रमुख बजार क्षेत्रहरुमा पनि नेपाली राष्ट्रिय झण्डा र भ्रष्टाचारविरुद्धको नारा बोकेर युवाहरु प्रदर्शनीमा उत्रिएका थिए ।