सिराज खान
नेपालगन्ज, भदौ २४ गते । जेनजी आन्दोलनका कारण नेपालमा १९ जनाको मृत्यु भएपछि भारतीय सुरक्षाकर्मीहरुले यहाँस्थित नेपाल भारत नाकामा हाइ अलर्ट जारी गर्दै सुरक्षा चेकजाँचमा कडाई गरेका छन् ।
देशभरी जेनजी विद्यार्थीहरुले प्रदर्शन सुरु गरेपछि केन्द्रको आदेश जनाउँदै यहाँस्थित नेपाल भारत सीमानाको भारतीय सुरक्षा पोष्टमा एसएसबी र भारतीय प्रहरीले चेकजाँचमा निकै कडाई गरेको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन् ।
नेपालबाट भारत जाने र भारतबाट नेपाल फर्किने दुबै प्रकारका सर्वसाधारणको चेक जाँचमा कडाई गरिएको भारत रुपैडिहास्थित भारतीय प्रहरी थानाका प्रमुख रमेशसिंह रावतले बताउनुभयो ।
उहाँले मुख्य नाकासँगै अन्य विभिन्न नजिकका खुला नाकाहरुमा पनि सुरक्षाकर्मीहरु तैनाथ गरिएको जनाउँदै आवागमन गर्ने सबैसँग विस्तृत सोधपुछ गर्ने कार्य भइरहेको बताउनुभयो ।
यस्तो असहज अवस्थामा गलत मानिसहरु सीमा आरपार गर्ने सम्भावना रहेकाले नाकामा कडाई गरिएको थाना प्रमुख सिंहले बताउनुभयो ।
भारतीय पक्षले नाकामा कडाई गरेको आवागमन गर्ने सर्वसाधारणले पनि जनाएका छन् । भारतबाट नेपाल आउने भन्दा नेपालबाट भारत जानेहरुमाथि कडा चेक जाँच भइरहेको मंगलवार सीमापारी गएर फर्कनु भएका नेपालगन्ज ११ का सन्तोष वैश्यले बताउनुभयो ।
जेनजीले आयोजना गरेको प्रदर्शनका क्रममा १९ जना विद्यार्थीको मृत्यु थियो । सो विरोधमा मङ्गलबार पनि नेपालगन्ज लगायत विभिन्न ठाउँमा विरोध प्रदर्शनहरु भइरहेका छन् ।