अर्जुन कार्की
काठेखोला (बागलुङ), भदौ २४ गते । जेनजी पुस्ताले मङ्गलबार बागलुङ बन्द गरेका छन् । बन्दका कारण बजार क्षेत्र ठप्प बनेको छ । पसलहरु बन्द भएका छन् भने सवारी साधनहरु सञ्चालन भएका छैन ।
जेनजी पुस्ताले सोमबारदेखि सुरु गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनमा धेरै युवाले ज्यान गुमाएपछि मङ्गलबार त्यसको विरोधमा बागलुङ बन्द गरिएको हो । शान्तिपूर्ण रुपमा आन्दोलनमा उत्रिका युवाहरु माथि सरकारले दमन गर्दै गोली प्रहार गरी ज्यान लिएकोले बन्दको आव्हान गरिएको जेनजी पुस्ताले जनाएका छन् ।
युवाहरूले सोमबार साँझ विरोध सभा गरी मङ्गलबारदेखि सम्पूर्ण बजार, यातायात र पसलहरू बन्द राख्न आह्वान गरेका थिए । उनीहरूले भ्रष्टाचार अन्त्य नभएसम्म आन्दोलन अझै कडा बन्ने बताउँदै आन्दोलनमा साथ दिन बागलुङका सम्पूर्ण नागरिकहरुलाई आग्रह गरेका छन् ।
मङ्गलबार दिउँसो ११ बजे लोकतान्त्रिक चोक भेलाभई प्रदर्शन गर्ने तयारी गरेका छन् । बिहानैदेखि जेनजी पुस्ताका युवाहरु सडकमा निस्केर बजार बन्द गर्न आह्वान गरिरहेका छन् । प्रहरीको सुरक्षा उपस्थिति बजार क्षेत्रमा बढाइएको छ ।
यस्तै बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले विद्यालयहरुमा शोक बिदा दिएका छन् ।
बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकाले मङ्गलबार र बुधबार शोक बिदा रहेको जनाएको छ भने काठेखोला गाउँपालिकाले मङ्गलबार मात्रै शोक बिदा दिइएको जनाएको छ ।