प्रेम अधिकारी
पशुपतिनगर(इलाम), भदौ २४ गते । सोमबार काठमाडौँसहित देशका विभिन्न स्थानमा जेनजीको प्रदर्शनका क्रममा मृत्यु भएका विद्यार्थीको आत्मा शान्तिको कामना गर्दै शोक बिदा दिएका छन् ।
स्थानीय पालिकाले विज्ञप्ती जारी गर्दै मृत्यु भएका विद्यार्थीको आत्मा शान्तिको कामना गर्दै संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिएका हुन् ।
इलामको रोङ गाउँपालिकाले हिजै विज्ञप्ती निकाली विद्यालय बन्द रहने जनाएको थियो । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जेनजी समुहका माग पूरा गर्न सरकार लाग्नु पर्ने जनाउदै शोक बिदा दिएको जानकारी दिनुभयो ।
यस्तै सूर्योदय नगरपालिकाले पनि आज एक दिन पालिका भित्रका अति आवश्यक बाहेक कार्यालय र विद्यालयमा शोक बिदा दिएको छ । नगर प्रमुख रण बहादुर राईले विज्ञप्ति जारी गर्दै जेनजी समूहका माग सम्बोधन गर्न सरकारले ध्यान दिनु पर्ने बताउनुभएको छ ।
इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले जेनजी आन्दोलनमा ऐक्यबद्धता जनाउदै शोक बिदा दिएको विज्ञप्ति निकाल्नु भएको छ ।
इलामको सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिकाले शोक बिदा दिएका छन । माङसेबुङ गाउँपालिकाले आज र भोली दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाएको छ ।
इलाममा हिजो सामान्य पदर्शन भएकोमा आज धेरै जसो स्थानमा प्रदर्शनको तयारी भएको छ । प्रदर्शनको तयारी भएपछि सुरक्षा व्यवस्था कडा पारीएको स्थानीय प्रशासनले जनाएको छ ।