• २४ भदौ २०८२, मङ्गलबार

विराटनगर महानगरपालिकाले दियो शोक बिदा

blog

खेमराज सापकोटा
मोरङ, भदौ २४ गते । सोमबार जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १९ जना युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विराटनगर महानगरपालिकाले मङ्गलबार एक दिने शोक विदा घोषणा गरेको छ । नगर प्रमुख नागेश कोइरालाले जारी गरेको विज्ञप्तिमा कपी–किताब बोकेर शान्तिपूर्ण ढङ्गले प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि भएको दमनले अमूल्य जीवन गुमाउनु दुःखद भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारलाई प्रभावकारी उपचारको व्यवस्था मिलाउन आग्रह गरिएको छ । महानगरले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति संवेदना व्यक्त गरेको छ । साथै, अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरू मंगलबार बन्द रहने निर्णय गरिएको छ ।

नगर प्रमुख कोइरालाले जेनजीले उठाएका मागलाई जायज बताउँदै सरकारलाई संवेदनशील, जिम्मेवार र दूरदर्शितापूर्ण व्यवहार गर्न अपिल समेत गर्नुभएको छ । 

यसैबिच विराटनगरका शैक्षिक संस्था दुई दिनका लागि बन्द हुने भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सोमबार बसेको सरोकारवालाको बैठकले बन्दबारे निर्णय गरेको हो । निर्णयअनुसार क्याम्पसहरू मंगलबार र बुधबार दुई दिनका लागि बन्द हुनेछन् भने विद्यालयहरू मंगलबार मात्र बन्द हुनेछन् ।

आन्दोलनलाई नियन्त्रणबाहिर जान सक्ने आकलन गर्दै निजी तथा सामुदायिक शैक्षिक संस्थाहरूको छाता संगठन प्याब्सन, हिसानलगायतका संघ–संस्थाले पनि विद्यालय र क्याम्पस बन्द गर्ने निर्णय लिएका हुन् ।

सोमबार भएको प्रदर्शनमा विद्यार्थीहरू आफ्नै विद्यालय–कलेजको पोसाकमा सहभागी भएका थिए । शिक्षण संस्थाहरू बन्द हुँदा पठनपाठन प्रभावित हुने देखिएको छ ।