धादिङबेँसी समाचारदाता
धादिङबेँसी, भदौ २४ गते । नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुकको आर्थिक प्रगति र उन्नतितर्फ अघि बढाउन सबै कार्यकर्ता एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।
धादिङको नीलकण्ठ नगरपालिकाद्वारा निर्मित बिपीपार्कको उद्घाटन गर्दै उहाँले कांग्रेसको आदर्श र सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्दै मुलुकलाई अघि बढाउन ऐकताबद्धता अपरिहार्य भएकाप्रति जोड दिनुभएको हो । उहाँले नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गरेको समाजवाद, राष्ट्रवाद र लोकतन्त्र आज पनि जनताबिच सबैभन्दा लोकप्रिय विचार रहेको उल्लेख गर्नुभयो ।
“हामी विगतका त्रुटि सच्याउँदै, मतदाताका गुनासा सुन्दै र स्वीकार्दै, नयाँ सङ्कल्प र निष्ठासहित जनतामाझ पुग्ने छौँ,” उहाँले भन्नुभयो, “देशभर कांग्रेसको चारतारे झन्डा र रुखको प्रतीक बोकेर आम मतदातामाझ पुग्दै विश्वास र भरोसा पुनःस्थापित गर्ने हाम्रो अठोट हो ।” कांग्रेसका प्रत्येक सदस्य र जिम्मेवारीमा रहेका सबैले बिपीले प्रतिपादन गरेका विचारलाई व्यवहारमा कार्यान्वयन गर्दै देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगतमा भएका कमजोरी सच्याउँदै, मतदाताका गुनासो सम्बोधन गर्दै नयाँ सङ्कल्प, निष्ठा र समर्पणसहित कांग्रेसलाई देशभर पुनः जनताको पहिलो रोजाइको पार्टी बनाउन हामी लाग्नु पर्छ ।” उहाँले पार्टी सङ्गठन विस्तार र निर्माणमा नवीन अभियान लिएर अघि बढ्ने समय आएको उल्लेख गर्नुभयो ।
त्यसै गरी नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले नगरपालिकाले सुशासन सुनिश्चित गर्दै काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले विकास निर्माण खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा नमुना काम गरिरहेका छौँ । बिपीले देखाएको मार्ग र उहाँका सिद्धान्तलाई विकास निर्माणको काममा जोड्दै नगरपालिकाका सबै कामलाई सोही अनुसार अगाडि बढाइरहेका छौँ ।”
नीलकण्ठ नगरपालिकाका विभिन्न क्षेत्रका ऐतिहासिक, सामाजिक र धार्मिक महìवका स्थानको विकासमा काम भइरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, सामाजिक व्यक्तित्व तथा स्थानीयवासीको उत्साहपूर्ण सहभागिता रहेको थियो ।