• २३ भदौ २०८२, सोमबार

निजामती सेवालाई प्रविधिमैत्री, जनउत्तरदायी र समयसापेक्ष बनाउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य

blog

रमेश विश्वकर्मा 
गुल्मी, भदौ २२ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजामती सेवालाई प्रविधिमैत्री, जनउत्तरदायी र समयसापेक्ष बनाउन लुम्बिनी प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ । प्रदेश निजामती सेवा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले निजामती सेवाको गौरवलाई अझ उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिनुभएको हो ।

विसं २०१३ भदौ २२ गते जारी भएको निजामती सेवा ऐन आइतबार ६९ वर्ष पुगेको प्रसंग स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यस अवधिमा राजनीतिक आन्दोलन, शासन प्रणालीका परिवर्तन र संरचनागत चुनौतीबीच पनि निजामती सेवा राज्यको मेरुदण्ड र जनसेवाको आधारस्तम्भ बनेको उल्लेख गर्नुभयो ।

सङ्घीयता कार्यान्वयनसँगै संघ, प्रदेश र स्थानीय तहमा निजामती सेवाको भूमिका अझ व्यापक भएको बताउँदै उहाँले प्रत्यक्ष रूपमा सेवा प्रवाहमा समर्पित सम्पूर्ण निजामती कर्मचारीप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारले कर्मचारी व्यवस्थापन र वृत्ति विकासलाई स्पष्ट र व्यवस्थित बनाउँदै सेवाप्रवाहलाई चुस्त, पारदर्शी र जवाफदेही बनाउन निरन्तर पहल गरिरहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो । 

शुभकामना सन्देशमा उहाँले सम्पूर्ण निजामती कर्मचारीलाई ज्ञान, सीप र इमानदारीसहित सकारात्मक सोचका साथ जनसेवामा समर्पित हुन आह्वान गर्नुभएको छ । साथै, उज्ज्वल भविष्यको शुभकामना पनि व्यक्त गर्नुभएको छ । लुम्बिनी प्रदेशमा निजामती सेवा दिवसको सन्दर्भमा विभिन्न कार्यक्रमहरु गरिएका छन् ।