• २३ भदौ २०८२, सोमबार

निफ्राको ६.३१ प्रतिशत नगद लाभांश

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २२ गते । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) ले आफ्ना सेयरधनीलाई ६.३१ प्रतिशत नगद लाभांश दिने भएको छ । निफ्राले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुसार सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनी सञ्चालक समितिको १७० औँ बैठकले चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपियाँको ६.३१५८ प्रतिशतका दरले हुने नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले एक अर्ब ३६ करोड ४२ लाख १२ हजार आठ सय रुपियाँ नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले उक्त प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्कसमक्ष अनुरोध गर्ने र सो लाभांश राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त भएपछि मात्र साधारण सभामा पेस गर्ने निर्णय गरेको छ । साथै साधारण सभाबाट पारित भएपछि अर्थ मन्त्रालयको स्वीकृति पनि लिनु पर्छ ।