• २३ भदौ २०८२, सोमबार

रारा हाइड्रोपावर अलपत्र

blog

पञ्चकोशी समाचारदाता

पञ्चकोशी (दैलेख), भदौ २२ गते । दैलेखको डुङ्गेश्वर गाउँपालिका–४ स्थित ब्युराखेतमा रहेको रारा हाइड्रोपावर १५ वर्षदेखि निर्माणाधीन अवस्थामै अलपत्र परेको छ । २०६७ सालदेखि निर्माण थालिएको आयोजना अहिलेसम्म काम पूरा नहुँदा अलपत्र परेको हो । 

निर्माणको औपचारिक काम २०७२ सालदेखि थालेको कम्पनीले सम्झौता अनुसार लिनुपर्ने रकम आयोजनाले भुक्तानी नदिँदा आयोजना अलपत्र परेको मताप ग्रुप एन्ड कन्स्ट्रक्सनका प्रोप्राइटर दीपक शाहीले बताउनुभयो । उहाँले रारा हाइड्रोपावर डेभलपमेन्ड कम्पनीसँग सम्झौतामा भएको आठ करोड रकम लिन बाँकी रहेको जनाउनुभयो । 

बिल बुझाएको १५ वर्षसम्म पनि काम गरेबापतको रकम निर्माण कम्पनीलाई अहिलेसम्म नदिएको शाहीले गुनासो गर्नुभयो । करिब ३७ करोडमा योजना बनिसक्ने भनिए पनि हालसम्म करिब ५७ करोड खर्च हुँदा पनि हाइड्रोपावर निर्माण हुन नसकेको प्रताप ग्रुप एन्ड कन्स्ट्रक्सनका प्रोप्राइटर शाहीले बताउनुभयो ।  

डुङ्गेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा हाइड्रोपावर निर्माणका लागि भन्दै २५ लाख रुपियाँसमेत विनियोजन गरेको थियो । २.१५ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणमा एभरेस्ट बैङ्क, सिद्धार्थ बैङ्क र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको ७० प्रतिशत र अन्य सेयर सदस्यको ३० प्रतिशतमा करिब ५५ करोडको लागतमा निर्माण सुरु गरिएको थियो । 

आयोजनामा कम्पनीका सञ्चालकको भनेको समयमा काम नगर्दा स्थानीयको लगानीसँगै घरखेत गुम्ने अवस्था आएको डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले बताउनुभयो । उहाँले स्थानीयले गरेको सेयर लगानीको रकम नपाएको गुनासो पालिकामा आएकाले आयोजनामा कम्पनी सञ्चालकले रकम फिर्ता नगरे कानुन प्रक्रिया अनुसार कारबाही हुने उल्लेख गर्नुभयो । 

निर्माणको जिम्मा पाएको कम्पनीले राम्रो आम्दानी हुने भनी स्थानीयसँग करोडौँ रुपियाँ सेयरका नाममा असुल गरेकाले हालसम्म निर्माण नहुनुले समस्या पारेको स्थानीयको गुनासो छ ।