यदुप्रसाद भट्ट
मनाङ, भदौ २१ गते। असार १ गतेबाट घट्दै गएको मनाङ भित्रिने पर्यटकको संख्या भदौ सकिनै लाग्दा बढ्न थालेको छ। आर्थिक वर्ष सुरु भएसँगै साउन १ गतेदेखि भदौ २० गतेसम्म ५६ देशका चार सय ८४ पर्यटकले मनाङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत धारापानीस्थित पर्यटक चेकपोस्टका कार्यालय प्रमुख भूपेन्द्र गुरुङले बताउनुभयो।
उहाँले हिजोआज पनि दैनिक दर्जनको हाराहारीमा विदेशी पर्यटकको आगमन भइरहेको बताउनुभयो। । उहाँका अनुसार सार्क मुलकबाट ३७ महिला तथा दुई सय ८९ पुरुष र सार्कबाहेकका मुलुकबाट एक सय ५८ पुरुषले मनाङ भ्रमण गरेका छन्।
उहाँका अनुसार यस अवधिमा मनाङ भ्रमण गर्ने पर्यटकमा सबैभन्दा धेरै ४४ जना चिनियाँ, ४० जना बेलायती, ३७ जना अमेरिकी, ३७ जना नै भारतीय र ३३ जना जर्मन रहेका छन्।
त्यसैगरी अस्ट्रेलियन २९, इजरायली २८, फ्रान्सेली २७, इटालियन २१ तथा पोल्यान्डका २० पर्यटकले बेसिजनमा पनि मनाङ भ्रमण गरेका छन्।
यही अवधिमा ६६ जनाले अनलाइन प्रमिट लिएको गुरुङले बताउनुभयो।
मनाङको हिमाली भौगोलिक स्वरुप, अन्नपूर्ण पदयात्रा मार्ग, धार्मिक तथा सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यका कारण वर्षेनी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। । मौसम अनुकूल हुँदा यो क्षेत्र विदेशी पर्यटकको मुख्य गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखिन्छ।
एक्यापका अनुसार पर्यटक आगमनको प्रमुख सिजन असोजदेखि मंसिर र फागुनदेखि वैशाख महिनासम्म रहन्छ। पर्यटन क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न स्थानीय व्यवसायीले यो वृद्धिलाई सकारात्मक संकेतका रूपमा लिएका छन्। । स्थानीय पर्यटन व्यवसायीका अनुसार सरकारले पूर्वाधार, सुरक्षा र सहजीकरणमा अझ ध्यान पु¥याए अझ धेरै पर्यटकलाई आकर्षित गर्न सकिनेछ।
पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङमा चहलपहल बढ्दै गएको छ। । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङ खण्डमा अहिले दैनिक दर्जनको हाराहारीमा विदेशी पर्यटक भित्रने गरेका छन्।