• २१ भदौ २०८२, शनिबार

बङ्गलादेशः धर्मगुरुको समाधिस्थलमा झडप, घटनामा संलग्नको खोजीकार्य तीव्र

blog

ढाका, भदौ २१ गते । बङ्गलादेशमा एक धर्मगुरुको चिहानमा सयौं कट्टरपन्थी इस्लामवादीले आक्रमण गर्ने क्रममा एक जनाको मृत्यु भएपछि प्रहरीले शनिबार घटनामा संलग्नको खोजी कार्य सुरु गरेको जनाएको छ ।

मुस्लिम बहुल बङ्गलादेशमा कट्टरपन्थीले आफ्नो पकड जमाइरहेका बेला गत वर्षको अगस्टमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाको नाटकीय पतनपछि दर्जनौं धार्मिक स्थलहरूमा आक्रमण भएको छ । यद्यपि, मध्य बङ्गलादेशमा शुक्रबार भएको आक्रमण चिहान खनेर ‘शवलाई अपवित्र गरिएको’ दुर्लभ घटनासँग सम्बन्धित थियो । 

एक प्रत्यक्षदर्शीका अनुसार मौलवी नुरुल हक मोल्लाको शरीरमा आगो लगाएपछि घटनाले उग्ररूप लिन पुगेको हो । राजबारी जिल्लाका प्रहरी सुपरिटेन्डेन्ट मोहम्मद कमरुल इस्लामले एएफपीसँग भन्नुभयो, “हामीले अपराधीको पहिचान गर्न सुरु गरेका छौँ र कोही पनि कानूनको नजरबाट छुट्ने छैनन् ।”

सुन्नी इस्लामवादी कट्टरपन्थी मोल्लाको चिहानमा राखिएको ढुङ्गा इस्लामको सबैभन्दा पवित्र स्थल मक्काको काबासँग मिल्दोजुल्दो भएको भन्दै भीडले आक्रोश व्यक्त गरेपछि घटना भएको बताइएको छ । नुरा पग्लाको नामले चिनिने मोल्लाले आफूलाई इमाम महदी भएको दाबी गर्नुभएको थियो । 

स्थानीय पत्रकार अजाज अहमदका अनुसार अगष्टमा मोल्लाको मृत्युपछि उहाँलाई राजबारीस्थित चिहानमा गाडिएको थियो तर उहाँको अन्त्येष्टि मूलधारको सुन्नी मुस्लिम परम्पराभन्दा फरक गरिएको थियो । मोल्लाका समर्थकले चिहानलाई परिमार्जन गर्ने वाचा गरेका थिए तर इमान-अकिदा रक्षा समिति नामक कट्टरपन्थी इस्लामी समूहका सदस्यले शुक्रबार दिउँसोको प्रार्थनापछि मन्दिरमा प्रवेश गरेका थिए ।

इस्लामले भन्नुभयो, “फलामे रड, हथौडा र लाठीले सुसज्जित करिब दुई हजार मानिसले नुरुल हकको समाधिस्थलमा प्रवेश गरी चिहानलाई अपवित्र बनाएका छन् ।” कट्टरपन्थी र मोल्लाका समर्थकबिच भएको झडपमा एक जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएको अस्पताल प्रशासनले जनाएको छ । मृत्यु हुनेमा २८ वर्षीय रसेल मोल्ला रहेको प्रहरीले जनाएको छ ।

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारले मन्दिरको अपवित्रताको निन्दा गर्दै यसलाई ‘अमानवीय र घृणित’ भनेको छ । अन्तरिम सरकार कानूनको शासन कायम राख्न र जीवन र मृत्यु दुवै अवस्थामा प्रत्येक मानव जीवनको पवित्रताको संरक्षण गर्न प्रतिबद्ध छ । रासस/एएफपी