• २१ भदौ २०८२, शनिबार

अमेरिकासँगको सम्बन्ध सकारात्मक रहेको भारतका प्रधानमन्त्री मोदीको भनाइ

blog

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

नयाँदिल्ली, भदौ २१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत मित्रतालाई दोहोर्याएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँदिल्ली र वासिङ्टनबिच अझै पनि ‘निकै सकारात्मक’ सम्बन्ध रहेको बताउनु भएको छ । 

नयाँदिल्लीले रुसी तेल किनेर युक्रेनमाथि मस्कोले गरेको घातक आक्रमणलाई बढावा दिएको आरोप लगाउँदै वासिङ्टनले भारतीय आयातमा ५० प्रतिशतसम्म कर लगाएपछि उत्पन्न तनावका बिच यो आदान-प्रदान भएको हो । राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबिच अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालदेखि नै बलियो सम्बन्ध रहँदै आएको छ ।

“राष्ट्रपति ट्रम्पको भावना र हाम्रो सम्बन्धको सकारात्मक मूल्याङ्कनको गहिरो प्रशंसा र पूर्णरूपमा मूल्याङ्कन गरियोस्”, मोदीले एक्समा लेख्नु भएको छ, “भारत र संयुक्त राज्य अमेरिकाबिच ‘धेरै सकारात्मक र व्यापक अग्रगामी र विश्वव्यापी रणनीतिक साझेदारी’ रहेको छ ।” यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आफू सधैं मोदीको मित्र रहने बताउनु भएको थियो । 

“भारत र संयुक्त राज्य अमेरिकाबिच विशेष सम्बन्ध छ । चिन्ता गर्नुपर्ने कुनै कारण छैन,” ट्रम्पले भन्नुभयो। ट्रम्पले भारतलाई चीनसँग हारेको’ भन्ने आफ्नो पहिलेको टिप्पणीलाई बेवास्ता गर्दै भारतसँगको विशेष सम्बन्धलाई औल्याउनु भएको हो । गत साता मोदीले साङ्घाई कोअपरेसन अर्गनाइजेसनको एक भेलामा भाग लिन चीन भ्रमण गर्नुभएको थियो, यो उहाँको सात वर्षपछि पहिलो पटक चीन भ्रमण हो ।

गत मे महिनामा आणविक शक्ति सम्पन्न छिमेकी राष्ट्र भारत र पाकिस्तानबिच दशकौँ यताकै सबैभन्दा खराब द्वन्द्वपछि शान्ति स्थापनाका लागि नोबेल पुरस्कारका लागि योग्य कूटनीतिको श्रेय लिने क्रममा ट्रम्प नयाँ दिल्लीप्रति चिढिनुभएको थियो । काश्मिरमा तेस्रो पक्षको मध्यस्थतालाई ठाडै अस्वीकार गरेको भारतले त्यसयता ट्रम्पसँगको सम्बन्धमा सानिध्यता देखाएको देखिएको थिएन । रासस/एएफपी