• २१ भदौ २०८२, शनिबार

महिलाले पनि खेल्न थाले भोदी खेल

blog

महिलाले पनि खेल्न थाले थारु समुदायको भोदी खेल । तस्बिर : ज्ञानु पंगेनी

ज्ञानु पंगेनी
मध्यविन्दु, भदौ २१ गते ।
पुरुषले मात्रै खेल्दै आएको थारु समुदायको भोदी खेल अहिले महिलाहरूले पनि खेल्न थालेका छन् ।थारु समुदायको परम्परागत खेल भोदी परापूर्वकालदेखि नै पुरुषहरूले मात्रै खेल्दै आएका थिए । तर अहिले महिलाहरू पनि भोदी खेलमा सहभागी हुन थालेका हुन् ।

थारु समुदायको अनन्त चतुर्दशी पर्वको अवसरमा खेलिने भोदी खेल पछिल्लो समय नवलपुरमा प्रतियोगीताका रूपमा विकसित हुँदै गएको छ ।  थारु समुदायको बाहुल्यता रहेको नवलपुरको पालिकाहरूमा भोदी खेल प्रतियोगिताहरू सञ्चालन भइरहेका छन् । पुरुष मात्रै सहभागी हुने यस खेलमा  अहिले महिलाहरू पनि प्रतिस्पर्धी भएर खेल्न थालेका छन् ।

कावासोती र मध्यविन्दु  नगरपालिकामा यस साता मात्रै चार पाँच स्थानमा भोदी खेल सम्पन्न भयो । ती सबै स्थानमा भएको भोदी खेलमा महिलाहरूले पनि सहभागिता जनाए । कावासोती १२ मा रहेको डायमण्ड युथ सोसाइटीले शुक्रबार मात्रै सम्पन्न गरेको भोदी खेलमा पुरुषको भन्दा महिलाको समूह बढी भयो ।

कूल ९१ वटा समूह सहभागी भएकोमा ५१ वटा महिलाको  समूहले भाग लिएपछि अयोजक नै चकित परे । संस्थाका अध्यक्ष लीलामणि खनालले आफूहरूले महिलाहरूको  समूह यति धेरै सहभागी होला भनेर कल्पना नै नगरेको बताउनुभयो । ‘‘हामीले महिलाको टिम धेरै सहभागी हुँदैन भनेर पुरुषको भन्दा दर्ता शुल्क र पुरस्कार पनि कम राखेका थियौं तर पुरुष भन्दा महिलाको टिक धेरै आए । हामीले तत्कालै पुरस्कार राशि पनि बढायौँ । महिलाहरू पनि यस खेलप्रति आकर्षित भएको देख्दा धेरै खुसी पनि लाग्यो ।’’ खनालले भन्नुभयो ।

थारु समुदायको कला संस्कृति जगेर्ना गर्न डायमण्ड युथ सोसाइटीले वर्षेनी विभिन्न कार्यक्रम गर्दै आएको छ । सात वर्ष अघिदेखि सुरु गरेको भोदी प्रतियोगितामा पहिलो पटक महिला भोदी प्रतियोगिता आयोजना गरिएको  संस्थाका सचिव नैनाराम थनेतले बताउनुभएको छ । ‘‘भोदी खेल पुरुषले मात्रै खेल्दै आएका थिए । तर हामीले अहिले प्रतियोगिता नै आयोजना गरेका छौँ, महिलाहरू यस अघि भोदीमा सहभागी हुँदैनथे तर हामीले समयसँगै खेललाई परिष्कृत र परिमार्जन गर्नुपर्छ महिलालाई पनि सहभागिता गराउनुपर्छ भनेर महिलाका लागी समेत प्रतियोगिता राखेका हौँ ।’’ थनेतले भन्नुभयो ।

प्रतियोगितामा सहभागी कावासोती १५ गोडारबाट सहभागी हुन आउनुभएकी भिमा महतोले महिलाहरूले भोदी खेल्न भर्खर भर्खरैबाट सुरु गरेको बताउनुभयो । ‘‘पहिले पहिले पुरुषहरूले खेलेको हेरेर मनोरञ्जन लिन्थ्यौं  समय परिवर्तन भयो, अब महिलाहरू  सहभागी हुनपर्छ भन्ने सोचेर महिलाका लागि पनि भोदी आयोजना गर्न भन्यौ आयोजना पनि हुन थाल्यो ।’’ महतोले भन्नुभयो, ‘‘दुई वर्ष पहिले आफ्नै गाउँमा खेलेको थिए  अहिले  गाउँभन्दा बाहिर आएर जिल्ला स्तरको प्रतियोगितामा भाग लिन पाउँदा निकै खुसी लागेको छ ।’’

पहिलो पटक भोदीमा सहभागी हुनुभएकी कावासोती १२ की दिल कुमारी थनेतले प्रतियोगिताका लागि दुई हप्ता पहिलेदेखि नै अभ्यास गरेको बताउनुभयो । ‘‘पुरुषहरूले खेलेको हेर्दा नै धेरै रमाइलो लाग्थ्यो, अहिले आफै खेल्दा त झनै रमाइलो लाग्दो रैछ । बल लगाएर लठ्ठी फाल्नुपर्छ खेल्दा, त्यसैले सकिन्न जस्तो लाग्थ्यो तर खेलेपछि त सकिँदो रहेछ ।’’ थनेतले भन्नुभयो ।

भोदी खेलमा एक समूहमा दश जना खेलाडी सहभागी हुन्छन् । उनीहरूले पालैपालो झटारो हानेर भुईँको खाडलमा राखिएका दश वटा लट्ठी (टाँचा) निकाल्ने नियम हुन्छ । खेलअनुसार एउटा समूहलाई निश्चित समय प्रदान गरिन्छ । निर्धारित समयमा सबैभन्दा धेरै लट्ठी खाडलबाट निकाल्ने समूह विजेता बन्ने गर्दछ ।

धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यो खेल विशेषतः युवा समूहबिचका खेलिने परम्परा छ । बलपूर्वक लठ्ठी हान्नुपर्ने भएकाले समेत युवाको सहभागिता आवश्यकता पर्ने गर्दछ ।