• २१ भदौ २०८२, शनिबार

गुल्मीमा १२१ हेक्टर क्षेत्रफलमा चक्लाबन्दी खेती

blog

आरएनपी नवोदय बहुउद्देश्यीय कृषि फर्मको तरकारी खेतीमा चक्लाबन्दी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास(गुल्मी), भदौ २१ गते ।
गुल्मीमा २१ वटा समूह सकारीमार्फत चक्लाबन्दी खेती गरिएको हो । बाँझिएर रहेका जग्गालाई विशेष प्राथमिकता दिँदै २१ वटा समूह सकारीमार्फत १२१ हेक्टर क्षेत्रफलमा चक्लाबन्दी खेती गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत हालको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइबाट आर्थिक वर्ष २०७७÷०७८ देखि चक्लाबन्दी खेती सुरु भएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ परियोजना गुल्मीका सूचना अधिकारी विष्णु पोखरेलका अनुसार हालसम्म जिल्लाका विभिन्न २१ वटा समूह तथा सहकारी संस्थामार्फत १२१ हेक्टर क्षेत्रफलमा चक्लाबन्दी प्रणालीमा खेती गरिएको छ । यस अवधिमा तरकारी, मकै, कफि, ओखर र सुन्तलाजस्ता बालीमा प्रविधियुक्त कृषि प्रर्णली प्रयोग गरिँदै आएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ७ वटा समूहले चक्लाबन्दी खेती सुरु गरेका थिए भने २०७८/०७९ र २०७९/०८० मा ५५ वटा, २०८०/०८१ र २०८१/०८२ मा २२ वटा समूहले चक्लाबन्दी खेती गरेका हुन् । गत आर्थिक वर्ष २०८१/०८२ मा रेसुङगा नगरपालिका–४ को अर्खलेस्थित कृषि बहुउद्देश्यीय सहकारी फर्ममा सुन्तलाखेती र वडा नम्वर–६ सिमाघाटस्थित आरएनपी नवोदय बहुउद्देश्यीय कृषि फर्ममा तरकारी खेतीमा चक्लाबन्दी प्रविधि लागू गरिएको थियो ।

योजना कार्यान्वयन एकाइले यी स्थानहरूमा लागत साझेदारीको आधारमा कुल लागत १९ लाखमध्ये ५० प्रतिशत कार्यालयले र बाँकी ५० प्रतिशत कृषकले लगानी गरेका छन् ।

कार्यालयमार्फत स्थायी टनेल निर्माण, सिँचाइ सुविधा, उन्नत बीउ, मल तथा आवश्यक उपकरण र प्राविधिक सहायता उपलब्ध गराइएको छ । यसले वर्षभरि मौसमी तथा बेमौसी तरकारी उत्पादन गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

चक्लाबन्दी खेती प्रणालीले कृषकहरूको आम्दानीमा वृद्धि, उत्पादनमा गुणस्तर सुधार र रोजगारी सिर्जनामा योगदान दिएको कार्यालयले जनाएको छ ।