बैतडी समाचारदाता
बैतडी, भदौ २१ गते । यहाँका एक मुक्त हलिया किरियापुत्री पाँच दिनदेखि भोकै बसेको पाइएको छ । घरमा अन्नपात केही नहुँदा एक छाक खान समस्या परेपछि छिमेकीले दुई सय रुपियाँ सहयोग गरेर शक्रबार किरियापुत्रीलाई एक छाक अन्नको जोहो भएको छ । त्यति मात्रै होइन, घरमा खानेपानीको धारा र शौचालयसमेत नहुँदा किरियापुत्री समस्यामा परेका छन् । दशरथचन्द नगरपालिका–४, बाडिलेकका ३० वर्षीय मुकेश भुल आमाको किरियामा भोकभोकै बस्नुभएको थाहा पाएपछि दुई सय रुपियाँ सहयोग गरेको मुक्त हलिया राजुराम भुलले बताउनुभयो ।
किरियापुत्री मुकेश सुस्त मनस्थितिका भएको उहाँले बताउनुभयो । उहाँकी ७५ वर्षीय आमा किडी भुलको पाँच दिनअघि मृत्यु भएको थियो । मृतक किडी भुलले मागेरै गुजारा गर्दै आउनुभएको थियो ।
मृत्युपछि शद्गतका लागि छिमेकीले दशरथचन्द नगरपालिकाको सहयोगमा ट्याक्टर उपलब्ध गराएर महाकालीकिनारको सेरामा किडी भुलको दाहसंस्कार गरिएको थियो । किडी भुललाई नेपाल सरकारले बस्नका लागि जनता आवासको घर बनाइदिएको थियो । शौचालय र पानीको धारा जोड्ने आर्थिक हैसियत नहुँदा भने किडी भुलले जीवनभर छिमेकीसँग पानी मागेर खानुभएको थियो । बाडीलेकको मुक्त हलिया बस्तीमा आफू जस्तै अधिकांश हलियाको घरमा खानेपानीको धारा नभएको किरियापुत्री मुकेश भुलले बताउनुभयो ।
मुकेश भुल सुस्त मनस्थितिको भएकाले आमाको सहारामा बाँच्नुभएको थियो । आमाको सामाजिक सुरक्षा भत्ताले चामलको जोहो हुँदै आएको थियो ।
यसअघि यही बस्तीमा प्रेम भुलको मृत्यु भएपछि कात्रो किन्ने पैसा नहुँदा बजारवासीले चन्दा उठाएर दाहसंस्कार गर्न सहयोग गरेका थिए । हलिया मुक्तिपछि अधिकांश परिवार सडक किनारमा गिट्टी कुटेर गुजारा गर्दै आइरहेका छन् । करिब ८० परिवार मुक्त हलियामध्ये ५० परिवारले मात्रै हलिया मुक्तिको परिचयपत्र पाएका छन् भने अन्य छुट हलिया तथ्याङ्कमा समेटिन सकेका छैनन् ।
बैतडी जिल्लाका चार हजारको सङ्ख्यामा मुक्त हलिया भए पनि अहिलेसम्म दुई हजार मात्रै तथ्याङ्कमा समेटिएका छन् । छुटेका मुक्त हलियाबारे स्थानीय तहको सरकारले कुनै नीति नबनाएको हलियाको गुनासो छ । परिचयपत्र पाएका मुक्त हलिया पनि बेरोजगार रहेको मुक्त हलिया भागा भुलले गुनासो गर्नुभयो । उहाँले मुक्त हलियालाई गाँस, बास र आवासको समस्या ज्युँका त्युँ रहेको बताउनुभयो ।