• २ असोज २०८२, बिहिबार

कृषि कर्म गर्न ढोरपाटनदेखि बागलुङ बजारसम्म

blog

गोलभेडा खेती गोडमेल गर्दै रिममाया बुढाथोकी । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, भदौ २० गते ।
गाउँघरमा कृषि कर्म गर्‍यो सोचेजस्तो आम्दानी नहुने । दुःखजिलो गरेर तरकारी उत्पादन गर्‍यो, मूल्य नपाउँदा मन खिन्न हुने । लामो समय पाखोबारीमा परिश्रम गरेपनि सोचेअनुरुप प्रतिफल हात नलागेपछि कपिल-रिममाया बुढाथोकी दम्पत्ति सदरमुकाम बागलुङ बजार हानियो । बिरानो शहरमा ओत लाग्ने घर थियो, न गरिखाने जग्गाजमिन नै । बुढाथोकी दम्पत्ति कत्ति विचलित भएन् । श्रममा विश्वास गर्ने उहाँहरुको ‘कृषि कर्म’ भाडाको जमिनबाट सुरु हुन्छ ।

कपिल÷रिममायाको स्थायी घर पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ४ खुंगा हो । कठिन भूगोल खुंगाबाट बुढाथोकी जोडी बागलुङ बजार झरेको अहिले ७ वर्ष बितिसकेको छ । यो अवधिमा उहाँहरुले गरेको संघर्षबाट ‘अगुवा कृषक’को पहिचान मिलेको छ, मनग्य आम्दानी हात लाग्दा परिवारमा बहार छाएको छ । थोरै जमिनबाट सुरु भएको व्यवसायिक तरकारी खेती अहिले १२ रोपनी जमिनमा फैलिएको छ । ताजा तरकारी उत्पादनमा सिमित व्यवसाय फैलिएर च्याउ, अदुवा, मकै, उखुदेखि ३ रोपनी फाँटमा धानखेतीसम्म फैलिएको छ । 

बुढाथोकी दम्पत्तिले बागलुङ नगरपालिका वडा नं. ४ ओडाचौरमा १२ रोपनी जमिन भाडामा लिएर ‘गरिमा कृषि फर्म’बाट ताजा तरकारी र च्याउ खेती गर्दै आउनुभएको छ । ‘‘भाडाकै जमिनमा चारवटा च्याउका टनेल र चारवटै टनेलमा ताजा तरकारीको खेती भइरहेको छ’’ रिममाया बुढाथोकीले भन्नुभयो । एकै सिजनमा एक हजार ६ सय केजीभन्दा धेरै च्याउ फलाउने लक्ष्य छ । बागलुङ बजारमा प्रतिकेजी दुई सय ३० देखि दुई सय ५० रुपियाँसम्ममा च्याउ बिक्री भइरहेको छ । फर्मबाट होलसेलमा दिँदा दुई सय रुपियाँ प्रतिकेजी पर्ने गरेको उहाँको भनाइ छ ।

वार्षिक ८५ हजार रुपियाँ भाडा तिर्ने गरी १२ रोपनी जमिन भाडामा लिएर बुढाथोकी दम्पत्तिले थालेको कामले अहिले धेरैको ध्यान खिचेको छ । ‘‘च्याउबाट मनग्ये कमाइ गरेर घरपरिवार चलाएर बचत गर्ने लक्ष्य छ’’ बुढाथोकीले भन्नुभयो । बुढाथोकीले फर्म चलाउन एकजना पूर्णकालीन कर्मचारी राख्नुभएको छ भने मौषमी काम गर्न ज्यालादारीमा पाँच जनासम्म खेताला खोज्नुपर्ने बताउनुहुन्छ । स्नातक पढ्ने छोराले फर्ममा सघाउनेदेखि बजारमा बेच्न सघाउँदै आउनुभएको छ ।

झण्डै २० वर्ष सवारी चालकको पेशा अपनाउनुभएका कपिलले चार वर्ष साउदी अरबमा समेत गाडी चलाउनुभयो । गाउँ फर्केर सात वर्ष आफ्नै जिप चलाउँदा पनि कमाई राम्रो नभएपछि पत्नि, पढ्दै गरेका दुई छोरा र एक छोरी लिएर सदरमुकाम झर्नुभएका उहाँले कृषि कर्मलाई प्रमुख पेशा बनाउनुभएको हो । ‘‘काम गर्ने जाँगर पनि छ, लामो अनुभव भएकाले कृषि फर्म खोले,’’ बुढाथोकीले भन्नुभयो, ‘‘कृषि कर्मबाटै अहिले सन्तोष मिलेको छ ।’’ कृषि फर्मबाट वार्षिक ६ देखि ७ लाख रुपियाँ नाफा निकाल्न सफल भएको बुढाथोकी अनुभव सुनाउनुहुन्छ ।

पत्नि रिममायाले पनि कृषि कर्ममा मन दिएपछि कृषि कर्म गर्दा सफलता मिलेको उहाँको भनाइ छ । फर्म सञ्चालनको सुरुवाती वर्षमा बजारीकरणमा समस्या भोगेपनि बुढाथोकीले हिम्मत हार्नुभएन् । अहिले बागलुङ बजारका धेरै थोक पसलमा उहाँकै फर्मको च्याउ आइपुग्छ । ताजा तरकारी पनि बारीबाटै बिक्री हुन्छ । ‘‘कतिपयले अर्डर गरेर घरमै पनि मगाउनुहुन्छ । भनेकै बेला ताजा तरकारी टिपेर बजार पुर्‍याइ दिँदा ग्राहक पनि सन्तुष्ट हुनुहुन्छ,’’ रिममायाले भन्नुभयो ।

बुढाथोकीको कृषि फर्ममा अहिलेसम्म ५० लाख लगानी भइसकेको छ । उहाँको मेहेनत र उत्पादन देखेपछि बागलुङ नगरपालिकाले प्लाष्टिक टनेल निर्माणमा एक लाख, कृषि ज्ञान केन्द्रले गोलभेडाको हाइटेक टनेलका लागि एक लाख ५० हजार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले च्याउ उत्पादनका लागि लागत साझेदारी कार्यक्रममा चार लाख लगानी समेत गरेको छ ।