• २२ भदौ २०८२, आइतबार

ऐतिहासिक वस्तु अलपत्र

blog

पञ्चदेवलमा फेला परेका ऐतिहासिक सामग्री । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता  

बैतडी, भदौ २० गते । हुलाक टिकट, नगरपालिकाको लोगो र पुरातात्त्विक विभागको संरक्षण सूचीमा रहेको पञ्चदेवलमा भेटिएका ऐतिहासिक ढाल–तरबार, आम्खोरा, गाग्री, माटोका भाँडा, धान र सुनचाँदी जस्ता वस्तुको संरक्षण र अनुसन्धान नहुँदा धर्मशालामा अलपत्र छाडिएको  छ । 

दशरथ चन्द नगरपालिका–४, देवलहाटमा रहेको पञ्चदेवलमा भेटिएका ऐतिहासिक शिलालेख, ढाल तरबार, सुनचाँदी र माटाका भाँडाकुँडाको संरक्षण गर्ने निकाय नहुँदा देउतालाई साक्षी राखेर शिवमन्दिरको धर्मशालामा राखिएको स्थानीयवासी ईश्वरीदत्त भट्टले बताउनुभयो । आम्खोरामा भेटिएको धान र त्यसभित्र सुन/चाँदी भेटिए पनि धान भने मुसाले खान थालेको उहाँले बताउनुभयो ।  

पुरातत्व विभागले पञ्चदेवलको जीर्णोद्धार एक दशकअघि ऐतिहासिक शिलालेख, सुनचाँदी र ढाल–तरबारलगायतका वस्तु फेला परे पनि अहिलेसम्म गणना गरेर नम्बर राख्ने काम हुन सकेको छैन । सखर वास्तुशैलीमा निर्मित पञ्चवेदमा फेला परेका वस्तु कुन समयमा कसले राखेको हो ? भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । देवलमा भेटिएका ऐतिहासिक वस्तु स्थानीय तहको सरकारले संरक्षण गर्नुपर्ने पुरातत्व विभागका सङ्ग्रहालय अधिकृत एवं सूचना अधिकारी पुरुषोत्तम आचार्यले बताउनुभयो  ।

उहाँले भन्नुभयो, “पञ्चदेवल पुरातत्व विभागको संरक्षण सूचीमा राखेर अध्ययन अनुसन्धान गर्ने काम भए पनि स्थानीय तहको सरकारले सङ्ग्रहालय निर्माण गरेर ऐतिहासिक वस्तुको संरक्षण गर्नु पर्छ ।” पञ्चदेवललाई दशरथ चन्द नगरपालिकाले आफ्नो लोगोमा राखेको भए पनि ऐतिहासिक वस्तुको संरक्षणमा भने कुनै कार्यक्रम सञ्चालन गर्न सकेको छैन । नगरपालिकाको वन, वातावरण तथा पर्यटन शाखा प्रमुख अमर कार्कीले चालु आर्थिक वर्षमा छलफल गरेर कार्यक्रम बनाउने जानकारी दिनुभयो ।   

स्थानीयका अनुसार पाण्डकालीन समयमै एकै रातमा निर्माण भएको पञ्चदेवल पाण्ड वनबास जाँदा निर्माण भएको भनाइ छ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले पञ्चदेवदको निर्माण १४ औँ शताब्दीमा श्रीदेवीको अगुवाइमा भएको दाबी गर्नुभयो  । उहाँले पञ्चदेवलको निर्माण साके संवत् १४२१ मा श्रीदेवीले आफ्ना पुत्र गरुड (ज्ञान) चन्दको स्मृतिमा निर्माण गरेको बताउनुभयो । यो विषय आफूले पुरातात्त्विक स्रोतबाट प्राप्त प्रमाणका आधारमा १७ वर्ष अनुसन्धान गरेर ‘दी हिस्ट्री अफ मिडिभल डोटी’ (मध्यकालीन डोटी राज्यको इतिहास–सङ्क १२३५–१७१२) नामक अङ्ग्रेजी भाषाको पुस्तकमा समेत उल्लेख गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पञ्चदेवल पाण्डवले बनाएको होइन । यो त बैतडीकै श्रीदेवीले निर्माण गर्न लगाएको हो । तत्कालीन डोटीका राजा रिपु मल्लले गरुड चन्दको हत्या गरेपछि उहाँकी आमा श्रीदेवीले हातहतियार र खरखजाना सुरक्षित राख्ने उद्देश्यले देवलको निर्माण गर्नुभएको थियो । खरखजानामा कछुवाको खप्परसमेत थियो, जुन अर्घ दिने बेला प्रयोगमा ल्याइन्थ्यो ।” उहाँले अगाडि भन्नुभयो, “गरुड चन्दको नाम ज्ञान चन्द भए पनि आकाशमा उडिरहेको गरुडलाई वाण हानेर खसाल्न सफल भएका कारण तत्कालीन मुगल सम्राट् जाहगिरले गरुड चन्दको उपाधि दिएका थिए ।”