मुगु समाचारदाता
मुगु, भदौ २० गते । सङ्घीय सरकारले मुगु जिल्लाको माथिल्लो मुगुमा छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णयले यहाँका स्थानीयलाई राहत मिलेको छ । जिल्लाको उत्तरी भेगका नागरिकका सहजताका लागि वन तथा वातावरण मन्त्रालयको सहजीकरणमा सरकारले से फोक्सुन्डो निकुञ्जको मुगुतर्फको ८४३.३६ वर्गकिलोमिटरलाई समेटेर केही दिनअघि छायानाथ राष्ट्रिय निकुञ्ज बनाउने निर्णय गरेको थियो ।
छायानाथ राष्ट्रिय निकुञ्ज पश्चिममा दाभसल्ला डाँडादेखि उत्तरतर्फ नाम्लाङ खोला, पश्चिमतर्फ नाम्लाङ र बेलुङखोला हुँदै छायानाथ ठाकुरजी नाथको चुचुरो हुँदा डाँडाछायरगोला भन्ज्याङ छिमीमारु डाँडासहित नेपाल–चीनबिचको अन्तर्राष्ट्रिय सिमानासम्म निर्धारण गरिएको से फोक्सुन्डो निकुञ्जको कार्यालयले जनाएको छ । यससँगै नेपालमा निकुञ्जको सङ्ख्या १३ पुगेको छ ।
सङ्घीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जिल्लाको उत्तरी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकामा बस्ने जनजाति समुदायको सहजताका लागि र स्थानीय समुदायको सेवा प्रवाह र चोरीसिकार नियन्त्रणलाई ध्यानमा राखेर नयाँ निकुञ्ज बनाउने निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ मुगुमकार्मारोङ गाउँपालिकाका नागरिकले निकुञ्जको सेवासुविधा लिनलाई अन्तरजिल्ला डोल्पा जान आउजाउमै सात दिन पैदल हिँड्नुपर्ने बाध्यता थियो, सेवा–प्रवाह नजिकैबाट होस् भन्ने उद्देश्य र निकुञ्जको उपस्थितिले चोरीसिकार नियन्त्रणमा पनि मद्दत पुगोस् भनेर मुगुमकार्मारोङ गाउँपालिकाका वडा नं १, ३ र ४ लाई समेट्ने गरी छायानाथ राष्ट्रिय निकुञ्ज बनाइएको हो ।”
से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्फाका वन संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार मुगुको मुगुमकार्मारोङ गाउँपालिकामा नयाँ छायानाथ राष्ट्रिय निकुञ्ज स्थापनाले वन्यजन्तु संरक्षण, चोरीसिकार नियन्त्रणसँगै स्थानीयलाई सेवाप्रवाहमा सहज हुने छ । से फोक्सुन्डोको क्षेत्रफल ठुलो हुँदा मुगुमा निकुञ्जका कर्मचारीको उपस्थिति न्यून रहेको थियो । यहाँका समुदायको “व्यवस्थापकीय दृष्टिकोणलाई समेत हेरेर मुगुतर्फको भागलाई समेटेर नयाँ निकुञ्ज बनाइएको हो,” उहाँले भन्नुभयो । तीन हजार ५५५ वर्गकिलोमिटरमा फैलिएको से फोक्सुन्डो टुव्रm्याएपछि अब दुई हजार ७११.६१ वर्गकिलोमिटरमा सीमित हुने उहाँको भनाइ छ । त्यसबिच पनि यो नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कायमै रहने अर्यालले बताउनुभयो । मुगुको छायानाथ राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र १७७.३७ वर्गकिलोमिटर पाउँदा से फोक्सुन्डोसँग एक हजार १७०.१ वर्गकिलोमिटर रहेको छ । यहाँ नयाँ राष्ट्रिय निकुञ्ज घोषणा भए पनि संरक्षण क्षेत्रको क्षेत्रफल भने बढेको छैन ।
मुगुमकार्मारोङ गाउँपालिका–१ का स्थानीय तोर्जेङ लामाका अनुसार से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज मुगु जिल्लाभित्र पर्ने केही भूभागसम्म फैलिएको हुनाले यहाँको वनसम्बन्धी सेवा लिनलाई सात/आठ दिनसम्म पैदल यात्रा गरेर डोल्पा जिल्लाभित्र पर्ने से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज जानुपर्ने भएकोमा अब त्यो समस्या हट्ने छ । मुगुमकार्मारोङ गाउँपालिकाका स्थानीयले अहिले घरनजिकैबाट सेवा पाउँदा यहाँका नागरिकलाई सहज हुने उहाँले बताउनुभयो ।
मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार मुगुमकार्मारोङ गाउँपालिकाका नागरिकको सहजताका लागि र वन्यजन्तुको संरक्षणका लागि मुगुमा नै निकुञ्ज स्थापना गरिदिनका लागि केन्द्रीय सरकारको वन तथा वातावरण मन्त्रालयलाई नौ वर्षअघि गाउँपालिकाले पत्रचार गरेको थियो । अहिले बल्ल निकुञ्ज स्थापना हुने भएको छ ।