हुम्ला समाचारदाता
हुम्ला, भदौ २० गते । वर्तमान शासन व्यवस्थामा सुधारका लागि सुझाव सङ्कलन हुम्ला आइपुगेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गतको शासकीय सुधार महाशाखाको टोलीलाई हुम्लावासीले मागैमाग राखेका छन् ।
हालको शासन व्यवस्था उत्कृष्टले यसबाट समानता प्राप्त भए पनि समता नभएको भन्दै त्यो व्यवस्था कानुनमै गर्नलगायतका माग हुम्लावासीले राखेका हुन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको शासकीय सुधार महाशाखाका प्रमुख सहसचिव डा. भीष्मकुमार भुसालको नेतृत्वमा एक टोली सुझाव सङ्कलन गर्न हुम्ला आएको छ । टोलीले आयोजना गरेको कार्यक्रममा नौ वटा बुँदामा सुझाव सङ्कलन गरेको छ ।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले हालको व्यवस्थामा समन्वय र सहकार्यलाई कार्यान्वयन पक्ष प्रभावकारी नभएकाले यसलाई सबल बनाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तह आर्थिक रूपमा सबल नभइसकेको अवस्थामा दिगो र आर्थिक रूपमा सक्षम हुने व्यवस्था गर्न उहाँले माग गर्नुभयो । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सङ्घीय सरकारले बजेट विनियोजित गर्ने प्रणालीमा परिवर्तन गर्न आवश्यक रहेको जनाउनुभयो ।
नेपाली कांग्रेसका उपसभापति वसन्त रोकायाले व्यवस्था आफैँमा सर्वोत्कृष्ट भएकाले यसलाई चलायमान गर्ने अङ्गलाई सक्रिय बनाउने व्यवस्थालाई कडाइ गर्न आवश्यक रहेको बताउनुभयो । वर्तमान शासन व्यवस्थामा तय गरिएका नियम कानुनमा समानता भए पनि त्यसलाई समताको व्यवस्था गर्न आवश्यक रहेको सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला भाम रोकायाले बताउनुभयो ।
भ्रष्टाचारलाई शून्य सहनशीलतामा झार्न भागबन्डाबाट नियुक्त गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी हुम्लाका अध्यक्ष विकास महतले बताउनुभयो । टोली प्रमुख डा. भुसालले शासकीय व्यवस्था सुधारका लागि आएका सुझाव टिपोट गरेको र यसलाई प्रतिवेदन तयार पारेर पेस गरिने बताउनुभयो ।