• २० भदौ २०८२, शुक्रबार

सहकारी ऐन कार्यान्वयनमा जोड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २० गते । सहकारी ऐनको कार्यान्वयनमा सरोकारवालाले जोड दिएका छन् । सहकारी क्षेत्रको सुधार र पारदर्शिताका लागि कानुनी व्यवस्थाको पालना अपरिहार्य रहेको उनीहरूले बताएका हुन् ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १५ औँ स्थापना दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐनमा भएका व्यवस्था क्रमशः लागु गर्दै जानुपर्ने बताउनुभयो । उहाँले मूल ऐनमा भएका व्यवस्था, नियमावली र निर्देशन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्माले सहकारीका ऐन नियममा केही दुबिधा रहेको भन्दै यसलाई समाधान गर्नुपर्ने बताउनुभयो । मुख्य कारोबारलाई फरक ढङ्गले परिभाषित नगरेसम्म प्राधिकरणले जारी गरेको निर्देशन पालना गर्नुपर्ने उहाँले बताउनुभयो । ३० प्रतिशतभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सबै प्रकृतिका सहकारी प्राधिकरणको दायरा पर्ने स्पष्ट पार्नुभयो ।

सहकारी विभागका रजिस्ट्रार उमेश ढुङ्गानाले सहकारी क्षेत्रलाई लगानीको बाटो र रोजगारीको बाटो बनाउनुपर्ने बताउनुभयो । सहकारीको मूल्यमान्यता हराउँदै गएकाले यसलाई जोगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको सात महिना बित्दासमेत अपेक्षित काम गर्न नसकेको बताउनुभयो ।