• २३ भदौ २०८२, सोमबार

सुक्यो सुकिलुम्बाको सपना

blog

इलाम नगरपालिका–९ मा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग । गत वैशाखयता यहाँ कुनै पनि जहाज अवतरण हुन सकेको छैन । तस्विर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, भदौ २० गते । जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल अहिले सुनसान छ । गत वर्ष ३३ पटक उडान भरेको यो विमानस्थलमा गत वैशाखयता कुनै पनि उडान हुन नसकेको इलाम नगरपालिकाले जनाएको छ । २०७५ जेठ २१ गते तारा एयरको जहाजले सुकिलुम्बामा परीक्षण उडान गरेको थियो । त्यसपछि नगरपालिकाकै पहलमा तारा एयरको जहाजले केही समय उडान भरेको थियो । नगरपालिकाले इलामबाट काठमाडौँ फर्कंदा जहाजको सिट खाली भए त्यसको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो । उक्त सम्झौता सकिएपछि पुनः नगरपालिकाले नेपाल एयरलाइन्ससँग इलाम–काठमाडौँको सम्झौता गरेर उडान सुरु गरेको थियो । 

गत वैशाखयता भने कुनै पनि उडान हुनै नसकेको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो । “एयरपोर्टको बिचभागमा चर्किएको थियो । त्यो त मर्मत भएको छ तर जहाज फेरि आउने टुङ्गो छैन,” नगरप्रमुख थापाले भन्नुभयो, “नेपाल एयरका जम्मा दुई वटा ट्विनअटर जहाज छन् । बिग्रियो, ग्राउन्डेड भयो भनेर टार्छ । यो चाहिँ सरकारकै अकर्मण्यता हो जस्तो लाग्छ ।” अब आउँदो दसैँसम्म केही प्रगति हुन्छ कि भने अपेक्षा रहेको प्रमुख थापाको भनाइ छ । 

विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गरिएको छ । टर्मिनल भवन अस्थायी छ । अझै विमानस्थल वरिपरि तारबार, विमानस्थल पुग्ने सडक कालोपत्रेको काम बाँकी नै रहेको छ । ३२८ रोपनी जमिन अधिग्रहण गरी निर्माण गरिएको विमानस्थलमा अझै जहाज नियमितको निश्चित नहुँदा जिल्लावासीमा चिन्ता भने थपिएको छ । 

विमानस्थल जिल्लाको विकासका लागि एउटा सूचक भए पनि अहिले निराश हुने अवस्था रहेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्याल बताउनुहुन्छ । “विमानस्थल सञ्चालन भएपछि इलाममा निजी क्षेत्रले धेरै ठाउँमा ठुलो लगानी गरेको थियो । यहाँ ठुला होटेल निर्माण भए, पूर्वी पहाडका लागि पर्यटन, कृषि, यहाँको अर्थतन्त्रका लागि निकै राम्रो सम्भावना तयार भएको थियो,” अध्यक्ष पौड्यालले भन्नुभयो । 

करिब ४० करोड रुपियाँ खर्च भएको विमानस्थलमा जहाज आउँदा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमसहित भारतको दार्जिलिङ, सिक्किमदेखिका नागरिकले सुविधा पाएका थिए । बाहिरका नागरिक इलाम हुँदै काठमाडौँ जाँदा जिल्लाको अर्थतन्त्र निकै चलायमान रहे पनि अहिले ठुला लगानीकर्तासमेत निराश भएको अध्यक्ष पौड्यालको भनाइ छ  ।