• २३ भदौ २०८२, सोमबार

दुई वर्षपछि सञ्चालनमा आउँदै आइसिपी

blog

भैरहवा समाचारदाता

भैरहवा, भदौ २० गते । नेपाल–भारत सीमानाका बेलहियामा स्थापना भएको एकीकृत जाँचविन्दु (आइसिपी) असोजदेखि पुनः सञ्चालनमा आउने भएको छ । पर्यटकको सहजता र सुरक्षा सुनिश्चित गर्न दुई वर्षअघि सुरु भएको यो विन्दु केही समयदेखि बन्द थियो ।

जिल्ला प्रशासन र सरोकारवालाको पहलमा असोजदेखि आइसिपी सञ्चालनमा ल्याउने निर्णय भएको हो । यसका लागि जिल्ला प्रशासन, प्रदेश पर्यटन मन्त्रालय, स्थानीय सुरक्षा निकाय र नगरपालिकाले पहल गरेका हुन् । सिद्धार्थनगर–१ स्थित उक्त विन्दुमा नेपाल प्रहरी, ट्राफिक, सशस्त्र प्रहरी र यातायात कर्मचारी तैनाथ रहने छन् ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेका अनुसार आइसिपी सञ्चालनमा देखिएका चुनौती र समस्याबारे छलफल गरी यसलाई व्यवस्थित बनाउने र पर्यटकको सहजता सुनिश्चित गर्ने निर्णय गरिएको छ । आइसिपीमा सुरक्षा जाँच पूरा गरेपछि पर्यटक सवार गाडीमा स्टिकर दिइने छ, जसका आधारमा जिल्लाभर अन्य सुरक्षा जाँच नहुने व्यवस्था लागु हुने छ । कार्य विभाजन पनि तय गरिएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले आवश्यक जनशक्ति, स्रोतसाधन र स्टिकरको व्यवस्था गर्ने छ । जिल्ला प्रशासनले अनुगमन, मूल्याङ्कन र समन्वय गर्ने जिम्मेवारी पाएको छ । सिद्धार्थनगर नगरपालिकाले पूर्वाधार निर्माण, खानेपानी र सरसफाइ र सीमाक्षेत्रको सौन्दर्यीकरणको जिम्मेवारी लिएको छ । भैरहवा भन्सार कार्यालयले परिसरको सुधार र सेवाग्राहीमैत्री संरचना निर्माण गर्ने छ ।

प्रजिअ पाण्डेका अनुसार जाँचविन्दुबाट प्रवाह हुने सेवाको अनुगमनका लागि समिति गठन गरिएको छ । समितिमा नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रदेश पर्यटन सचिव, प्रहरी प्रमुखहरू र भैरहवा भन्सार प्रमुख रहेका छन् । सबै निकायबिच समन्वय गरेर पर्यटकका लागि सहज वातावरण तयार गर्ने सहमति बनेको छ । असोजदेखि पुनः सञ्चालन हुने यो एकीकृत जाँचविन्दुले भैरहवा–बेलहिया क्षेत्रमा यात्रा गर्ने पर्यटकको सुरक्षा र सुविधा दुवै सुनिश्चित गर्ने विश्वास गरिएको छ ।