• १९ भदौ २०८२, बिहिबार

चार महिनादेखि नौ बालबालिका विद्यालय जानबाट वञ्चित

blog

शेरबहादुर राई
ओखलढुुङ्गा, भदौ १९ गते ।
गत वर्ष असोजमा आएको भीषण बाढीले सुनकोशी गाउँपालिका–१ ढेबुवा ओखलढुङ्गा र सिन्धुलीलाई जोड्ने झोलुङ्गे पुल बगाएको एक वर्ष पुग्न लाग्दा पनि पुनर्निर्माण सुरु हुन सकेको छैन । पुल अभावमा ढेबुवा माझीगाउँ र वडा नं. ४ जेरोङघाटका नौ बालबालिका चार महिनादेखि विद्यालय जानबाट वञ्चित छन् । उनिहरु फिक्कल गाउँपालिका–६ को राईगाउँ आधारभूत विद्यालयमा पढ्थे ।

यहाँका कुल २६ विद्यार्थीको पढाइ प्रभावित भएको छ । बाढीपछि फिक्कल गाउँपालिकाको पहलमा सञ्चालनमा आएको अस्थायी र्‍याफ्टिङ डुङ्गा नदीको बहाव बढेसँगै वैशाखदेखि बन्द भएपछि विद्यार्थीहरू सुरक्षित आवागमन मार्गविहीन भएका छन् । “बच्चा पढाउन मन छ, तर पुल पनि छैन, डुङ्गा पनि चल्दैन, अब के गर्ने ?” जेरोङघाटकी चन्द्रकुमारी माझीले गुनासो गर्नुभयो । फिक्कल गाउँपालिका–६ कै गेरुडाँडा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी भने मानेभञ्ज्याङ–७ को टोक्सेल नयाँपुल तरेर पढ्न जाने गरेका छन् ।

“पुल बनाउन कसैले चासो दिएन, वडा र गाउँपालिकाले बालबालिका पढ्न नपाएको विषयलाई वास्ता गदैन,” ढेबुवाका सविन माझीले भन्नुभयो । उहाँका अनुसार हिँड्न सक्ने विद्यार्थी करिब दुई घण्टा लाग्ने टोक्सेल नयाँ पुलबाट विद्यालय पुग्छन् भने नसक्ने घरमै बस्न बाध्य छन् । जेरोङघाटका दुईजना विद्यार्थी सुनकोशी–१ साँधीको योगिस्थान आधारभूत विद्यालयमा गएका छन् ।

शिक्षासँगै स्थानीयको यहाँका स्थानियको दैनिकी पनि प्रभावित भएको जीवन राईले बताउनुुभयो । घरायसी सामान किन्न डेढ घण्टा पैदल हिँडेर घुर्मी पुग्नुपर्ने बाध्यता रहेको राईको भनाइ छ । जोखिम मोलेर ट्युबको सहायताले नदी पार गर्ने क्रममा ज्यान जोखिममा परेको घटना समेत भएका छन् । दुई दिन अघि ढेबुवाका ३५ वर्षीय धनबहादुर माझी ट्युब पल्टिएर करिब ५०० मिटर तल बग्नुभएको थियो, भने केही दिनअघि करिब डेढ किलोमिटर तल सोखुखोला दोभानसम्म बग्दा उहाँलाई नै स्थानीयले उद्धार गरेका थिए ।

स्थानीयवासीले पटक–पटक पुल पुनर्निर्माणको माग गर्दा पनि कुनै चासो नदिएको आरोप सम्बन्धित निकायलाई लगाएका छन् । सुनकोशी–१ का वडा अध्यक्ष प्रकाश सापकोटाले प्रभावित विद्यार्थीको पढाइ निरन्तरताका लागि फिक्कल गाउँपालिका–६ मा रहेका विद्यालयसँग समन्वय गर्ने बताउनुभएको छ । थप समन्वयका लागि गाउँपालिकामा पहल गर्ने पनि अध्यक्ष सापकोटाले बताउनुभयो । अध्यक्ष सापकोटाका अनुसार पुल पुनर्निर्माणका लागि केही दिन अघि सर्भे भएको छ ।