रवीन्द्र उप्रेती
बर्दिवास, भदौ १९ गते । बर्दिवास नगरपालिका क्षयरोगले आक्रान्त बनेको छ । नगरपालिकाको सबैजसो वडामा क्षयरोगका बिरामी भेटिएका छन् । त्यसमध्ये वडा नं ८ हात्तीलेट क्षेत्रममा क्षयरोगीको बढ्दो सङ्ख्या छ जसले गर्दा सन् २०५० सम्म नेपाललाई क्षयरोग मुक्त राष्ट्र बनाउने अभियानको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ ।
नगर स्वास्थ्य शाखाका अनुसार ०८१ साउनदेखि ०८२ साउनसम्मको अवधिमा बर्दिबास नगरपालिकाको १४ वटै वडामा गरी १४५ जना क्षयरोगी पहिचान गरिएको छ । यसमध्ये वडा नं ८ हात्तीलेट क्षेत्रमा एकपछि अर्को २२ जना क्षयरोगी फेला परेपछि क्षयरोगमुक्त राष्ट्र बनाउने अभियानमा चुनौती थपेको स्वास्थ्यकर्मीले जनाएका छन् । क्षयरोगीकोे अधिक चाप रहेको हातिलेट स्वास्थ्य चौकीमा बागमती सेवा समाजको आयोजना र महोत्तरी क्षयरोग टिमको सहयोगमा विशेष स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
यसबिच, वडा नं ७ र ११ मा क्षयरोगले तीन जनाको मृत्यु भएपछि अवस्था गम्भीर बनेको जनाइएको छ । नगर स्वास्थ्य शाखाका अधिकृत रामबाबुृ यादवका अनुसार हिजो साँझसम्म चलेको शिविरमा अत्याधुनिक प्रविधिबाट १२३ जना गाउँलेको सामूहिक स्क्रिनिङ गरिएको थियो ।
स्क्रिनिङ गराएकामध्ये २२ प्रतिशत अर्थात् २८ जनामा क्षयरोगको शङ्का देखिएको यादवले बताउनुभयो । यादवले भन्नुभयो, ‘‘शङ्कास्पद २८ मध्ये पनि १४ जनाको अवस्था थप गम्भीर देखिएको छ ।’’
क्षय रोगीको यो प्रतिशतले वडाध्यक्ष शमशेर सिंह लामालाई पनि चकित पारेको छ । उहाँले भन्नुभयो, ‘‘क्षयरोगीको यो प्रतिशत भयावह हो ।’’
वडाध्यक्ष लामाका अनुसार वडा नं ८ मा करिब १४ सय परिवारको बसोबास छ । यसमध्ये दलित र जनजातिको सङ्ख्या उल्लेख्य छ । स्वास्थ्य चेतना छँदै छैन । जीवनशैली र खानपान पनि अस्वस्थकर छ । यस्ता अनेकन कारणले टीबी, कालाजार लगायतका बिरामी चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ ।
‘‘घरेलु मदिराको जथाभावी सेवन क्षयरोगी बढनुको प्रमुख कारण हुन सक्छ’’ वडाध्यक्ष सिंहले भन्नुभयो, ‘‘अपर्याप्त र अस्वस्थ भोजन त गरिबको नियति नै भयो ।’’
शिविरले आज जारी गरेको रिपोर्टमा पनि शङ्कास्पद २८ क्षयरोगीमध्ये जनजाति र दलित समुदायको सङ्ख्या २४ देखिएको छ ।
शङ्कास्पद सबै बिरामीको खकार परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशला पठाइएको नगर स्वास्थ्य अधिकृत यादवले बताउनुभयो ।
नगरप्रमुख प्रह्लाद क्षेत्रीले सामुदायिक तहमा यस्ता शिविरले समयमै रोग पत्ता लगाउन र उपचार थाल्न सहज हुने भएकाले क्षयरोग नियन्त्रणमा ठुलो योगदान पुग्ने बताउनुभयो ।