बाबुराम देवकोटा
सिन्धुलीमाढी, भदौ १९ गते । कृषि विकास कार्यालय सिन्धुलीले यो वर्ष कृषकको जीवनस्तरमा सुधार ल्याउन तीन करोड रुपियाँभन्दा बढीको विभिन्न कृषि कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।
चालु आर्थिक वर्ष ०८२/०८३ का लागि पुँजीगततर्फको तीन करोड २२ लाख ४० हजार रुपियाँ बराबरको स्वीकृत विभिन्न कृषि कार्यक्रमहरु कार्यालयले सावर्जनिक गरेको हो । बागमती प्रदेश सरकार र सङ्घीय सरकारको सहयोगमा कृषक समूह, सहकारी, निजी कृषि फर्मको साझेदारी र कार्यालय आफैँले गर्ने विभिन्न कार्यक्रम सञ्चालनको तयारीमा रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार एक वडा, एक कृषि उत्पादन कार्यक्रमअन्तर्गत सुनकोशी गाँउपालिका–५ र फिक्कल गाउँपालिका–५ मा तरकारी बाली कार्यक्रम सञ्चालन हुने भएको छ । कृषि विकास उद्यमशीलता विकास कार्यक्रमप्रति साझेदार बढीमा दुई लाख रुपियाँ अनुदानमा सञ्चालन हुने भएको छ ।
त्यस्तै अलैंची तथा मसला बाली, खाद्यान्न बाली, फलफूल खेती र व्यवसायिक तरकारी खेतीका लागि प्रवर्धन कार्यक्रम सञ्चालन हुने भएको छ । उक्त कार्यक्रमअन्तर्गत व्यावसायिक तरकारी खेतीका लागि प्रतिहेक्टर बढीमा दुई लाख रुपियाँ र अन्यमा बढीमा एक लाख रुपियाँ अनुदानको व्यवस्था मिलाइएको कार्यालय प्रमुख अनुप अधिकारीले जानकारी दिनुभयो ।
दलित, लोपोन्मुख, सीमान्तकृत, अल्पसङ्ख्यक र एकल महिलालाई लक्षित गरी मागमा आधारित जीविकोपार्जन कार्यक्रम सञ्चालन हुने भएको छ । त्यसका लागि प्रति कृषक बढीमा एक लाख रुपियाँ अनुदानको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै, बिउ उत्पादन क्षेत्रभित्र सिँचाइ क्षेत्र विस्तार र साना सिँचाइको तीन वटा कार्यक्रम रहको र बढीमा तीन लाख रुपियाँ अनुदान दिने व्यवस्था रहेको छ । साना सिँचाइको ३० वटा कार्यक्रम रहेको र बढीमा दुई लाख रुपियाँका दरले अनुदानको व्यवस्था रहेको कार्यालयले जनाएको छ । खाद्यान्न बालीको उन्नत बिउ उत्पादन क्षेत्र विस्तार सहयोग कार्यक्रम, भकारो सुधार कार्यक्रम, प्राङ्गारिक मल वितरण लगायतका कार्यक्रमहरु यो वर्ष सञ्चालन हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
अन्य कार्यक्रमहरुमा प्लाष्टिक पोखरी निर्माण तथा मर्मत, खाद्यान्न बालीमा गुणस्तरीय बिउ उत्पादन कृषक पाठशाला, तालिम, सामग्री तथा प्रविधि सहयोग, कृषि मेला, महोत्सव, घुम्ती बाली उपचार शिविर रहेको कार्यालयले जनाएको छ ।
कृषि उत्पादन बढाउनका लागि कृषकलाई तालिम, कार्यालयबाट प्राविधिक सेवा, प्राङ्गारिक मलमा सहयोग, भकारो सुधार कार्यक्रम, कृषि यान्त्रीकरण, साना सिँचाइ कार्यक्रम, विपदबाट क्षति पुगेका कृषकलाई राहत कार्यक्रम र कृषि बजारीकरणमा सहयो लगायत कार्यालयबाट प्रयास भइरहेको उहाँको भनाइ छ ।