जीवछ यादव
लहान, भदौ १९ गते । लहान नगरपालिका– १९ कटहाका मृतक सिटी रिक्सा चालक परिवारलाई लहान नगरपालिकाको नगरप्रमुख महेश प्रसाद चौधरी घरमै पुगेर राहत वितरण गर्नु भएको छ ।
गएको भदौ १४ गते शनिबर विद्युत सिटि रिक्सामा चार्ज गरिरहेको समया ४७ वर्षीय अचकलाल सदायको मृत्यु भएको थियो ।
नगरप्रमुख चौधरी बुधबार एक क्विन्टल चामल, पाँच किलो दाल, तीन किलो नुन र तीन लिटर तेल लिएर लहान–१९ कटहास्थित मृतकको घरमा पुगेर परिवारलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
राहत पाएपछि मृतकका पत्नी सावित्री सदाय र क्रिया बसेका छोरा कृष्ण सदाय खुसी हुनुभएको थियो । यसैगरी, मृतकका श्रीमती सवित्रीले छोराका लागि रोजगागरीको व्यवस्था गरी दिन पनि नगरप्रमुख चौधरीसँग आग्रह गर्नुभयो ।
यता नगरप्रमुख चौधरीले लहान नगरपालिकामा अति विपन्न दलित समुदायका रुपमा रहेका मुसहर समुदायको मृत्यु भएपछि मृत्यु संस्कार गर्न नगद पाँच हजार र खाद्यान्न सहयोग गर्ने कार्य आफू नगरपालिकामा निर्वाचित भएदेखि नै गर्दै आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मुसहर समुदायको उत्थानका लागि मुसहर समुदायको बस्तीमा टियुशन कक्षा, शैक्षिक सामग्री वितरण, खानेपानी र आपवासको लागि लहान नगरपालिकाले कार्य गरिरहेका छ । यस आर्थिक वर्षमा फुस घर विस्थापन कार्यक्रम ल्याएर आवासको समस्या समाधान गर्न लागेका छौँ ।’’