काठमाडौँ, भदौ १९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि हुने दोस्रो विधान महाधिवेनशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेनशनको उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनुहुनेछ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सम्पन्न हुने महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । प्रस्तुत प्रतिवेदनमा समूहगत छलफल हुनेछ ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार पार्टी अध्यक्ष ओलीले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदनमा विकसित राष्ट्रिय एवं अन्तरराष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै वर्तमानका मुख्य चुनौती, पार्टीको कार्यदिशा, कार्यभारलगायत विषय समेटिएका छन् । रासस