• १९ भदौ २०८२, बिहिबार

कतारले कङ्गोमा २१ अर्ब डलर लगानी गर्न तयार

blog

किन्शासा, भदौ १८ गते । कतारी लगानी कम्पनी अल मन्सुर होल्डिङले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी)मा २१ अर्ब अमेरिकी डलर लगानी गर्न तयार रहेको बताएको छ । कङ्गोको पूर्वमा वर्षौंदेखि जारी द्वन्द्व अन्त्यका लागि दोहाले मध्यस्थता गरिरहेको छ ।

समूहका संस्थापक तथा शाही परिवारका सदस्य शेख मन्सुर बिन जाबोर बिन जसिम अल थानीले अफ्रिकी भ्रमणका क्रममा मङ्गलबार डिआरसीको राजधानी किन्शासाको भ्रमण गर्नु भएको थियो । कतारी प्रतिनिधिमण्डलले प्रधानमन्त्री जुडिथ सुमिन्वासँगको भेटमा डिआरसीमा करिब २१ अर्ब अमेरिकी डलर लगानीका लागि ‘आशयपत्र’ पेश गरेको कतारी प्रतिनिधिमण्डलको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लगानी कृषि, वित्त, खानी, औषधि, हाइड्रोकार्बनलगायत विभिन्न क्षेत्रमा लक्षित गरिने छ । गत महिना अल मन्सुर होल्डिङले १० दिने भ्रमणका क्रममा दक्षिण अफ्रिकाका चार देशमा ७० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । बोत्सवाना, मोजाम्बिक, जाम्बिया र जिम्बाब्वेलाई दिने आर्थिक सहायताको प्रतिबद्धता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्केपछि स्रोत साधनले भरिपूर्ण यस क्षेत्रका गरिब देशले अमेरिकी सहायतामा व्यापक कटौतीको सामना गरिरहेका छन् ।

रुवान्डासमर्थित एम-२३ सशस्त्र समूहले केही हप्ताभित्रै दुई प्रान्तीय राजधानी कब्जा गरी कडा आक्रमण गरेपछि यस वर्षको सुरुमा देशको पूर्वी भागमा व्यापक द्वन्द्व भएको थियो । रुवान्डाका राष्ट्रपति पल कागामे र उहाँका कङ्गोली समकक्षी फेलिक्स शिसेकेडीबिच मार्चको मध्यतिर दोहामा युद्धविरामका लागि भेटवार्ता भएको थियो । यद्यपि, कतारले अनपेक्षितरूपमा सङ्कट समाधानका लागि भएको कूटनीतिक प्रयास सफल हुन नसकेको र प्रयास निरन्तर जारी राखिएको घोषणा गरेको थियो ।

गत जुनमा वासिङ्टनमा दुई देशबिच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । समानान्तर रूपमा, कङ्गोली सरकार र एम २३ ले अप्रिलमा दोहामा पनि वार्ता गरे र जुलाईमा युद्धविरामको प्रतिबद्धता व्यक्त गरे । यद्यपि, त्यहाँ द्वन्द्व जारी छ । रासस/एएफपी