काठमाडौँ, भदौ १८ गते । मनोचिकित्सा एकाइ सरकारी व्यवस्थापनमा हस्तान्तरण हुने भएका छन् ।
कान्ति बाल अस्पताल र मानसिक अस्पताल, लगनखेलमा सञ्चालित विशेष मनोचिकित्सा एकाइ सरकारी व्यवस्थापनमा हस्तान्तरण हुने भएका हुन् ।
बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवालाई दिगो र प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सिविन नेपालबिच बुधबार समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतासँगै कान्ति बाल अस्पताल र मानसिक अस्पताल, लगनखेलमा सञ्चालित विशेष मनोचिकित्सा एकाइहरू क्रमशः सरकारी व्यवस्थापनमा हस्तान्तरण हुने भएका हुन्।
सिविन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१५ को विनाशकारी भूकम्पपछि बालबालिका र किशोरकिशोरीमा देखिएको मनोसामाजिक असरलाई सम्बोधन गर्न यी सेवा सुरु गरिएका थिए।
विगत नौ वर्षदेखि सञ्चालन हुँदै आएका यी स्वास्थ्य सेवाहरूको दिगोपना सुनिश्चित गर्न सरकारले पूर्ण स्वामित्व लिने प्रक्रिया अघि बढाएको हो।
समझदारी-पत्रमा हस्तान्तरणको स्पष्ट कार्ययोजना उल्लेख गरिएको छ, जसअनुसार, सन् २०२६ सम्ममा सिविन नेपालले हालकै मोडेलअनुसार सेवा सञ्चालनको सम्पूर्ण आर्थिक तथा प्राविधिक जिम्मेवारी लिने छ।
सन् २०२६ देखि २०२८ सम्ममा सरकारले क्रमशः आफ्नो बजेट विनियोजन बढाउँदै लैजाने छ र सन् २०२८ पछि दुवै एकाइहरूको सञ्चालन, व्यवस्थापन र आर्थिक भार पूर्णरूपमा नेपाल सरकार र सम्बन्धित अस्पतालहरूको मातहतमा आउने छ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखा प्रमुख भीमप्रसाद सापकोटाले बालबालिकाको मानसिक स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको अभिन्न अङ्ग बनाउनु सरकारको प्राथमिकता रहेको बताउनुभयो ।
त्यसैगरी, सिविन नेपालका प्रतिनिधिले सरकारले यस सेवाको स्वामित्व लिनुले हजारौँ बालबालिकाको मानसिक स्वास्थ्य सेवाको भविष्य सुनिश्चित भएकोमा खुसी व्यक्त गर्नुभयो।
यस सम्झौताले नेपालमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य जस्तो संवेदनशील र महत्त्वपूर्ण विषयलाई सरकारको प्राथमिकतामा राखी सेवाको पहुँचलाई देशव्यापी बनाउन सहज हुने मन्त्रालयको विश्वास रहेको छ।