• १८ भदौ २०८२, बुधबार

प्रधान सेनापति ट्रफी : बक्सिङमा १६ नम्बर बाहिनी च्याम्पियन

blog

प्रधान सेनापति ट्रफी बक्सिङमा प्रतिस्पर्धा गर्दे खेलाडी । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ १८ गते । नेपाली सेनाले आयोजना गरेको प्रधान सेनापति ट्रफी–२०८२ अन्तर्गत पोखरामा भएको बक्सिङ प्रतियोगितामा १६ नम्बर बाहिनी अड्डा च्याम्पियन बनेको छ । 

१६ नम्बर बाहिनी चार स्वर्ण, एक रजत र तीन कास्य पदक प्राप्त गरी पहिलो भएको हो । दुई स्वर्ण, चार रजत र तीन कांस्य पदक प्राप्त गरी उपत्यका पृतना हेडक्वाटर दोस्रो हुँदा दुई स्वर्ण, तीन रजत र चार काँस्य पदक प्राप्त गरी पूर्वी पृतना हेडक्वाटर तेस्रो बने । 

पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा भदौ ११ गते सुरु भएको प्रतियोगिता बुधबार सकिएको हो । प्रतियोगितामा आठ पृतना, पाँच बाहिनी र एक विशेष फौज बाहिनीका खेलाडी सहभागी थिए ।  

बक्सिङका विभिन्न इभेन्टमा दुई सय २४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ छ तौल समूहमा प्रतिस्पर्धा भएको पश्चिम पृतनाका सेनानीसमेत रहनुभएका बक्सिङ खेलका समन्वय अधिकृत हुमानसिंह कुँवरले जानकारी दिनुभयो । 

प्रतियोगिताको पुरुष न्यूनतम ४८ केजी समूहमा ३-१ ले सुवास तामाङलाई हराउँदै गणेश भण्डारी विजयी हुनुभयो । फ्लाइ ५१ केजी समूहमा सुरेन्द्रबहादुर राईले वाकओभर दिएपछि बलबहादुर खड्का विजेता बन्नुभयो । बेन्टम ५४ केजी समूहमा प्रवीण बयलकोटीलाई ५-० ले हराउँदै प्रेम चौधरी च्याम्पियन हुनुभएको छ ।

लाइट ६० केजी समूहमा जीवन गुरुङलाई नकआउट गर्दै खगेन्द्र रोकामगर विजेता बन्दा लाइट वेल्टर ६३.५ केजी समूहमा बाबुराम मगरलाई ४-१ ले पछि पार्दै नितेश नेपाली विजेता ठहरिनुभयो । बेल्टर ६७ केजी समूहको खेल राजेश कार्कीले परित्याग गर्दा दानबहादुर दलार्मी च्याम्पियन हुनुभयो । मिडिल ७५ केजी समूहमा ५-० ले सुरेश बिकलाई पछि पार्दै गेशकुमार श्रेष्ठ उपाधि हकदार हुनुभएको छ ।

प्रतियोगिताको लाइट हेभी ८० केजी समूहमा रेफ्रीले प्रतियोगिता रोक्दा दीपक श्रेष्ठ विजेता घोषित हुनुभयो । हेभी ९२ केजी तौल समूहको खेल खेलाडी रोशन श्रेष्ठले परित्याग गर्दा मदन कार्की विजेता बन्नुभयो । प्रतियोगिताको सुपर हेभी ९२ केजी प्लस तौल समूहमा ३-० ले मोहनराज जोशीलाई पराजित गर्दै प्रवीण चौधरी उपाधि हकदार बन्नुभयो । 

यसैगरी, महिलातर्फ न्यूनतम ४८ केजी तौल समूहमा उर्मिला ठाडामगरलाई पछि पार्दै आरती बम्जनले उपाधि जित्दा फ्लाइ ५२ केजीमा खेलाडी घाइते बनेपछि रेफ्रीले प्रतियोगिता रोक्दा लालुमाया कार्की विजेता घोषित हुनुभयो । बेन्टम ५४ केजी तौल समूहको खेलमा रेफ्रीले प्रतियोगिता रोक्दै वर्षा श्रेष्ठलाई विजेता घोषित गरेको पश्चिम पृतनाले जनाएको छ ।

फेदर ५७ केजी तौल समूहमा वेदकुमारी राईले खेल परित्याग गर्दा विमला श्रेष्ठ उपाधि हकदार बनिन् । लाइट ६० केजीमा ५-० ले सुस्मिता राईलाई पछि पार्दै चन्द्रकला थापाको नाममा उपाधि रह्यो । यस्तै, वेल्टर ६६ केजी तौल समूहमा रेफ्रीले प्रतिस्पर्धा रोक्दा पुनम रावल विजेता बनिन् । 

पश्चिम पृतनाका पृतनापति मधुकर सिंह कार्कीले नेपाली सेनाले नेपालको खेलकुद क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “नवौं राष्ट्रिय खेलकुदमा नेपाली सेनाले बक्सिङबाट १२ स्वर्ण, चार रजत र तीन काँस्य पदक प्राप्त गरेको थियो,” प्रतियोगिताले खेलाडीमा हौसला थपिएको उहाँको भनाइ छ ।