काठमाडौँ, भदौ १८ गते । एएफसी यु–२३ एसियन कप छनोट खेलमा नेपालले बुधबार (आज) राति घरेलु टोली ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
राजधानी डुसान्बेस्थित पामीर रङ्गशालामा राति पौने १० बजे सुरु हुने खेलमा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा छ । नेपाली टोलीका प्रशिक्षक नविन न्यौपानेले नेपालले राम्रो तयारी गरेर ताजकिस्तान आएकोले जितका लागि खेल्ने बताउनुभएको छ ।
खेलअघि मङ्गलबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक न्यौपानेले नेपाल छनोटको लक्ष्यसहित आएकोले सबै खेल जितका लागि खेल्ने बताउनुभएको छ ।
छनोटमा नेपाल समूह ‘के’ मा रहेको छ । यस समूहमा आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्स रहेको छ । नेपाले दोस्रो खेल सेप्टेम्बर ६ तारिख सिरिया र ९ तारिख फिलिपिन्ससँग खेल्ने छ ।
सिङ्गल राउन्ड रोविन सलगका आधारमा खेलाइने खेलपछि समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एसियन कपमा स्थान बनाउने छ ।