दुबई, भदौ १८ गते । विज्ञहरूले विश्लेषण गरेका स्याटेलाइट तस्बिरले इजरायलको लामो समयदेखि शङ्का गरिँदै आएको आणविक कार्यक्रमसँग जोडिएको प्रमुख स्थलमा निर्माण कार्य तीव्र भइरहेको देखाएका छन् ।
उनीहरूका अनुसार यो नयाँ रिएक्टर वा आणविक हतियार संयोजन गर्ने सुविधा हुन सक्छ, तर गोपनीयताका कारण निश्चित भन्न कठिन छ । डिमोना नजिकैको शिमोन पेरेस नेगेभ आणविक अनुसन्धान केन्द्रमा भइरहेको यो कामले मध्यपूर्वमा एक मात्र आणविक–सशस्त्र राष्ट्रका रूपमा इजरायलको स्थितिबारे फेरि प्रश्न उठाउने छ ।
निर्माणाधीन संरचनाको स्थान, आकार र धेरै तलाहरू देखिनुका आधारमा यो नयाँ भारी पानी रिएक्टर हुन सक्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन् । यस्तो रिएक्टरले आणविक हतियार निर्माणमा प्रयोग हुने प्लुटोनियम उत्पादन गर्न सक्छ । तर केही विज्ञहरूले यो नयाँ हतियार संयोजन सुविधा पनि हुन सक्ने सुझाएका छन् ।
मिडलबरी इन्स्टिच्युटका आणविक विज्ञ जेफ्री लुइसले भन्नुभयो, “यो सम्भवतः रिएक्टर नै हो । स्थान, आकार र डिमोनाको इतिहास हेर्दा अरू केही भएको कल्पना गर्न गाह्रो छ ।” इजरायलले आफ्नो आणविक हतियार अस्तित्वबारे पुष्टि वा अस्वीकार गर्दैन । सरकारले र ह्वाइट हाउसले पनि यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
-वर्षौंदेखि जारी उत्खनन र निर्माण-
एपीले सन् २०२१ मा पहिलो पटक डिमोना क्षेत्रमा ठूलो उत्खनन भएको रिपोर्ट गरेको थियो । हालैका तस्बिरले भूमिगत संरचना निर्माणमा बाक्लो कङ्क्रीट पर्खाल, धेरै तला र ठूलो क्रेन प्रयोग भइरहेको देखाउ छ । हालको भारी पानी रिएक्टर सन् १९६० को दशकमा सञ्चालनमा आएको हो, जुन युगका धेरै रिएक्टरभन्दा लामो समय चलिसकेको छ ।
यसलाई चाँडै प्रतिस्थापन वा पुनः फिट गर्नुपर्ने सङ्केत विज्ञहरुले दिएका छन् । युनियन अफ कन्सन्र्ड साइन्टिस्ट्सका एडविन लाइम्यानले भन्नुभयो, “यो नयाँ रिएक्टर वा हतियार सम्बन्धी संरचना हुन सक्छ, तर पारदर्शिताको अभावले ठ्याक्कै भन्न कठिन भएको छ ।”
-गोप्यता र शङ्कास्पद क्षमता-
सन् १९८० को दशकमा एक ह्विसलब्लोअरले डिमोनाबारे विवरण सार्वजनिक गरेपछि विज्ञहरूले इजरायलले दर्जनौँ आणविक हतियार बनाइसकेको निष्कर्ष निकालेका थिए । यदि नयाँ रिएक्टर बनेमा, इजरायलले प्लुटोनियम वा ट्रिटियम उत्पादन गरेर आफ्नो शस्त्रागार कायम राख्न वा विस्तार गर्न खोजिरहेको हुन सक्छ । ट्रिटियम वारहेडको शक्ति बढाउन प्रयोग हुन्छ र बर्सेनि करिब पाँच प्रतिशत क्षय हुने भएकाले पुनः उत्पादन आवश्यक पर्छ ।
-आणविक अस्पष्टताको नीति-
यहुदी नरसंहारपछि स्थापना भएको इजरायलले सन् १९५० को दशकमा आणविक स्थल निर्माण सुरु गरेको विश्वास गरिन्छ । यसले ‘आणविक अस्पष्टताको नीति’ अवलम्बन गरेको छ, जसले प्रतिद्वन्द्वीलाई अनिश्चिततामा राख्छ । इजरायल आणविक हतियार भएको विश्वास गरिएका नौ मुलुकमध्ये एक हो र आणविक अप्रसार सन्धिमा सामेल नभएका चार मध्ये एक हो ।
यस कारण अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)लाई डिमोनाको निरीक्षण गर्ने अधिकार छैन । भियनास्थित आइएइएले भनेको छ, “इजरायल आफ्नो सोरेक अनुसन्धान रिएक्टरबाहेक अन्य आणविक संरचनाबारे जानकारी दिन कानुनीरूपमा बाध्य छैन ।” रासस/एपी