राममणि दाहाल
मकवानपुर, भदौ १८ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धमा छलफल गर्न बुधबार यहाँ बसेको बैठकमा उहाँले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो । उहाँले सवारी दुर्घटना न्यूनीकरण र उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला निकायहरू समन्वय गरी प्रभावकारी रूपमा परिचालित हुनुपर्ने बताउनुभयो ।
बैठकमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले काठमाडौँ उपत्यका ट्राफिक व्यवस्थापनको विविध पक्षहरू र वर्तमान अवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
बैठकले उपत्यकाको ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालयले अल्पकालीन र दीर्घकालीन योजना बनाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।
यस्तै उपत्यकाका ट्राफिक व्यवस्थापनको लागि खटिने ट्राफिक प्रहरीहरूका लागि आवश्यक पर्ने उपकरण तथा सामाग्रीहरूको व्यवस्थापन श्रम, रोजगार तथा यातायात मन्त्रालयले गर्ने, उपत्यका र उपत्यका भन्दा बाहिर सञ्चालन हुने सार्वजनिक सवारीहरूको मार्ग इजाजत पत्र (रूट पर्मिट) लाई थप व्यवस्थित बनाई विद्युतीय प्रणालीमार्फत इजाजतपत्र जारी गर्ने व्यवस्था मिलाउने बैठकबाट निर्णय भएको छ ।
त्यस्तै, श्रम, रोजगार तथा यातायात मन्त्रालयले यातायात कार्यालय र ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सवारी चालक अनुमतिपत्र जारी गर्नु अघिपछि अनुमति पत्र वाहकलाई ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण सञ्चालन गर्ने, काठमाडौं उपत्यकामा आवश्यक ट्राफिक लाइटको व्यवस्था, ट्राफिक लाइटलाई व्यवस्थित गर्न स्थानीय तहसँग समन्वय र जडित लाइटहरूको नियन्त्रण र सञ्चालन ट्राफिक प्रहरीले गर्ने व्यवस्था मिलाइने भएको छ ।
यसैगरी श्रम, रोजगार तथा यातायात मन्त्रालयमार्फत ट्राफिक प्रहरीसँग समन्वय गरी ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।
बैठकमा श्रम, रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवस्थापनका क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरू सम्बन्धमा छलफल गर्न यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकारवाला निकायहरूसँग अन्तर्क्रिया कार्यक्रम गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।
मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, प्रदेश सरकारका प्रमुख सचिव भुपाल बराल, प्रदेशका सरकारका सचिवद्वय कृष्णबहादुर शाही र बलराम ढकाललगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।