• १९ भदौ २०८२, बिहिबार

उत्तराखण्डको बाढीपहिरोमा बाबुछोरासहित तीन बेपत्ता

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, भदौ १८ गते । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाको पूर्वी बागर, छेनागाडमा गएको शुक्रबार बिहान आएको बाढी–पहिरोमा परी सल्यानका तीन जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा बनगाड कुपिण्डे नगरपालिका–६ कालागाउँका ४९ वर्षीय शरद आग्री, उनका २४ वर्षीय छोरा दीपक आग्री र वडा ५ राउचका ६९ वर्षीय भीमबहादुर बुढा छन्। वनगाड कुपिण्डे नगरपालिका–६ का वडा अध्यक्ष गणेश बिसीका अनुसार उनीहरू रोजगारीको सिलसिलामा साउन १६ गते सल्यानबाट भारत गएका थिए।

“बेपत्ताको खबर परिवारमार्फत पाएका हौँ। बिहान ३।४ बजेतिर आएको लेदोसहितको पहिरोले उनीहरू सुतेकै अवस्थामा बस्ती पुरिएको जानकारी छ,” वडा अध्यक्ष बिसीले भन्नुभयो।

उक्त पहिरोमा ४ जना नेपाली र ४ जना भारतीय गरी कम्तीमा ८ जना बेपत्ता भएको पुष्टि भएको छ। बेपत्ता भएकामध्ये जुम्ला घर भएका अर्का एक नेपालीको परिचय खुल्न सकेको छैन।

बेपत्ता भीमबहादुर बुढाका छोरा सुरेश बुढाले पनि खोजी कार्यमा कठिनाइ भएको वताउनुयभो । उहाँका  अनुसार गाउँ विकट र अप्ठ्यारो ठाउँमा भएकाले खोजीमा समस्या भइरहेको छ। चार दिनसम्म कुनै सम्पर्क नहुँदा परिवारले काजकिरिया गर्न तयारी थालेको बताइएको छ।

१२ भदौको राति भएको अविरल वर्षापछि आएको बाढी–पहिरोले रुद्रप्रयाग जिल्लाको पूर्वी बागर क्षेत्रको छेनागाड गाउँमा ठूलो क्षति पुर्‍याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। १३ भदौको बिहान आएको लेदोसहितको बाढीले त्यहाँका १५ भन्दा बढी घर र पसल बगाएको छ।