शिवकुमार रिजाल (काशी)
मनहरी (मकवानपुर), भदौ १८ गते । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित डिभिजन वन कार्यालयको नयाँ भवन निर्माण हुने भएको छ । निर्माण हुन लागेको पक्की भवनको बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्री भरत केसीले बुधबार शिलान्यास गर्नुभएको छ । उहाँले जग पूजा गरेर भवनको शिलान्यास गर्नुभएको हो ।
१४ वटा कोठा रहने भूकम्प प्रतिरोधी भवन निर्माणका लागि १ करोड ७५ लाख रुपियाँ लगानी हुने डिभिजन वन कार्यालय राप्तीका प्रमुख हेमबहादुर थापाले बताउनुभयो ।
नयाँ संविधान २०७५ जारी भएर मुलुक सङ्घीयता कार्यान्वयनमा गएसँगै मकवानपुर जिल्लामा दुई वटा डिभिजनल वन कार्यालय स्थापना भएका हुन् । उत्तर पश्चिम मकवानपुर लक्षित गरी डिभिजन वन कार्यालय राप्ती मनहरी र सदरमुकाम हेटौँडामा केन्द्रित हुने गरी डिभिजन वन कार्यालय मकवानपुर स्थापित भएको हो ।
बागमती प्रदेशका १३ वटा जिल्लामध्ये सिन्धुली र मकवानपुर जिल्लामा २-२ वटा र अन्य ११ वटा जिल्लामा एक-एक वटा डिभिजन वन कार्यालय स्थापित भएका छन् ।